हाम्रा पूर्वीय महर्षिहरूको विधि र पद्धतिहरू निकै महत्वपूर्ण सावित हुँदैछन : राष्ट्रपति भण्डारी
दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको व्यस्त जीवनमा जीवन शैली व्यवस्थापनको लागि हाम्रा पूर्वीय महर्षिहरूको विधि र पद्धतिहरू निकै महत्वपूर्ण सावित हुँदै बताइन् । बुधबार दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद शिक्षण भवनको समुद्घाटन समारोहमा बोल्दै उनले भनिन्,‘ ति विधि र पद्धतिहरूको प्रचार प्रसार गरि फाइदा लिन सक्नु पर्छ । जीवन एउटा कला हो । यसलाई ढंग पु¥याएर जिउन जान्नु पर्दछ । हाम्रा महर्षीहरूले सिकाएका अनेकौं कुराहरू यही जीवन कलाकै व्यवस्थापनका लागि हुन् ।’
संस्कृत विश्वविद्यालय नेपालको परम्परागतको संस्कृति, कला, इतिहास र मूल्य मान्यताको अधिकार सम्पन्न संस्था भएको पनि उनको भनाइ थियो । विश्वविद्यालयले विविधताको सम्मान सहित नेपालको समाजको बौद्धिक नेतृत्व गर्दै भावी पुस्तालाई आफ्नो मूल्य र पहिचान प्रति जागरुक तुल्याउन सक्नु पर्नेमा जोड दिइन् । ऋषिमुनीहरूले नासोको रुपमा सुम्पिएका आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, प्राचीन विधि शास्त्र, वैदिक कृषि, वास्तु शास्त्र जस्तालाई आधुनिक तरिकाले पठनपाठन गराउन तर्फ विश्वविद्यालयले पहल गर्नु पर्नेमा समेत सुझाव दिइन् । यस्तै उनले उद्घाटन भएको भवन विश्वविद्यालयको लागि ठूलो उपलब्धि भएको पनि बताइन् । यस भवनको उपयोगबाट आयुर्वेदका सयौँ विद्यार्थीहरू उत्पादन हुने र तिनीहरूबाट राष्ट्रको समृद्धि र विकासमा योगदान पुग्ने पनि बताइन् ।
पूर्वीय बाङ्गमयमा आयुर्वेदलाई उपवेद मानेको भन्दै आयुर्वेद हाम्रै माटोको उपच भएको उनको भनाइ थियो । अहिले पनि नेपाली समाजमा आयुर्वेदका सयौँ विज्ञहरू परम्परागत उपलब्ध रहेको उनले बताइन् । नेपालका आदिवासी समुदायमा समेत आयुर्वेद र जडीबुटीका विशेषज्ञहरू रहेको भन्दै हाम्रो सभ्यताबाट सृजना भएको ज्ञानलाई अझ विकास गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न यो आयुर्वेद शिक्षण भवनले ठुलो योगदान गर्ने समेत बताइन् । यस्तै कोरोना महामारी पछि विश्वमा प्राकृतिक जीवन शैली तथा आयुर्वेद प्रतिको विश्वास र आकर्षणमा अझ वृद्धि भएको पनि बताइन् । उनले आयुर्वेद पूर्वीय सभ्यताको मात्र नभइ संसार कै साझा सम्पत्ति बनेको पनि उल्लेख गरिन् । उनले भनिन्,‘ हाम्रो मौलिक स्वास्थ्य पद्धतिहरूको रुपमा रहेका आयुर्वेद, योग, प्रणायाम, ध्यान, प्राकृतिक चिकित्साका साथै हाम्रा जनजातीय समुदायमा पाइने शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित तथा लोप हुन लागेका अनेकौँ उपचार पद्धति र ज्ञानको खोजी, अनुसन्धान, संरक्षणका लागि विश्वविद्यालय क्रियाशील हुन आवश्यक छ ।’
यसैगरी उनले विश्वविद्यालय अचल सम्पत्तिको दृष्टिले अत्यन्तै समृद्धि भएयता पनि सो सम्पत्तिलाई विद्यालयको विकास र विस्तारमा सदुपयोग गर्न नसकिएको पनि बताइन् । उनले विद्यालयको चलअचल सम्पत्तिको संरक्षण र सम्वर्द्धन गर्दै त्यसको अधिकतम परिचालन गरि विद्यालयले आर्थिक रुपमा आत्मनिर्भर गर्न प्रयत्न गर्नु पर्ने समेत बताइन् । यस्तै उनले त्यसका लागि नेपाल सकारको तर्फबाट सहयोग प्राप्त हुनेमा आफूले विश्वास लिएको पनि बताइन् । यसैगरी उनले संस्कृतसँग आफ्नो व्यक्तिगत र भावनात्मक सम्बन्ध रहेको पनि उल्लेख गरिन् ।
उनले भनिन्,‘ जननेता मदन भण्डारी पनि संस्कृत क्षेत्र कै उत्पादन हुनुहुन्थ्यो । संस्कृत बाङ्गमयको अध्ययन गरेको हुनाले नै जननेता मदन भण्डारीमा सृजनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेम जस्ता गुणहरू विद्यमान थिए । उहाँ आफ्नो जीवन कालमा धेरै पटक दाङ आउनु भएको र उहाँले यहाँका समाजिक एवं प्राकृतिक विशेषताहरूको वर्णन गर्नु भएको प्रसङ्ग अहिले मलाई स्मरण भइरहेको छ ।’ उनले अहिले सांस्कृतिक पूर्ण उत्थानको महान यात्रामा गतिशील रहेको बताइन् । उनले यसलाई नेपाली सम्भ्यताका पुर्न जागरण नाम दिएको पनि उल्लेख गरिन् ।
विश्वका हरेक देशमा राष्ट्रिय पूर्ण जागरण यात्रालाई त्यहाँका विश्वविद्यालय तथा बौद्धिक संस्थाहरूले नेतृत्व दिएर गन्तव्यमा पु¥याएका उदाहरणहरू पाइएको भन्दै नेपालका सन्दर्भमा पनि राष्ट्रिय पूर्ण निर्माणको गुरुत्तरको अभियानको नेतृत्व विश्वविद्यालय र प्राङ्गिक संस्थाहरूले लिनु पर्ने सुझाव दिइन् । उनले भनिन्,‘ नेपाली संस्कृति, नेपाली चेतनाको स्वभाविक उत्तराधिकार बोकेको नेपाल संस्कृत विश्वविद्यालयले सांस्कृतिक पूर्ण उत्थान र पूर्ण निर्माणको यो यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।’
यस्तै उनले नेपाल सरकारले जारी गरेको राष्ट्रिय शिक्षा निती २०७६ मा नेपाललाई हिन्दु, बौद्ध लगायत प्राचीन दर्शन सभ्यता, संस्कृति लगायतको केन्द्र विन्दु बनाई पूर्वीय दर्शन आधारित अध्ययन तथा अनुसन्धान व्यवस्था मिलाउने कुरालाई महत्व दिएको पनि बताइन् । नेपाल संस्कृति विश्वविद्यालयले सरकारको यो सरोकारलाई सम्बोधन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताइन् । उनले भनिन्,‘ पूर्वीय दर्शन, पूर्वीय चिन्तन, मौलिक दर्शन एवं परम्परा, आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, मानविकी, समाजशास्त्र, जैविक विविधता, पर्यटन, जडीबुटी लगायतको कुरामा अध्ययन, अनुसन्धान व्यवस्था मिलाउने कुरालाई सरकारले जोड दिएको छ ।’यसैगरी उनले हाम्रो परिकल्पना आर्थिक समृद्धि तथा भौतिक सुखसँग मात्र नभइ सांस्कृतिक, नैतिक र सभ्यतागत उच्चतासँग सम्बन्धित रहेको पनि बताइन् । उनले हाम्रो पहिचान, स्वाभिमान, सम्मान र निजत्वको खोजी गर्नु पर्ने अवस्था रहेको पनि उल्लेख गरिन् ।

