टरिगाउँ विमानस्थलको डीपीआर तयार

दाङ । तुलसीपुर उपमहानगरपालिका  १२ मा रहेको टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ ।डीपीआर अनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सात सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिने जस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले जानकारी दिइन ।

उनले डीपीआरमा दिइएका विकल्प माथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेकोसमेत बताइन । छलफलपछि निष्कर्ष निकाल्ने र त्यहीअनुसार सङ्घीय सरकारसँग बजेटका लागि पहल गर्ने तयारी रहेको जनाइएको छ ।अहिले विमानस्थलको धावनमार्ग ७ सय ५० मिटरमात्रै लम्बाइ छ ।

त्यसमा १९ सिटे भन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन ।त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपमेयर चौधरीको नेतृत्वमा समिति बनाएर दबाब दिइरहेको छ । अहिले नेपाल एयरलाइन्सको १९ सिटे ट्विनअटरले उडान भरिरहेको छ । आउँदो फागुन ३ गतेदेखि सीता एयरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ । तर , भाडा भने आठ हजार रुपैयाँ कायम रहनेछ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस