बंगलाचुलीमा सहिद, घाईते अपाङ्ग तथा बेपत्ता परिवारलाई सम्मान

दाङ । बंगलाचुली गाउँपालिकाले  विभिन्न आन्दोलनका सहिद, घाईते अपाङ्ग तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । सोमबार गाउँपालिकाले सहिद दिवसको अवसर पारी  २३ जना सहिद परिवारका सदस्य , ३५ जना घाईते अपाङ्ग र ५ जना बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेको हो ।

गाउँपालिकामा  एक कार्यक्रमको आयोजना गरी सहिद ,घाईते अपाङ्ग तथा बेपत्ताका परिवारका सदस्यहरूलाई नगद ३ हजार ५ सय तथा खादा ओढाएर  सम्मान गरेको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले देशमा विभिन्न आन्दोलनमा योगदान पुराएका सम्पूर्ण सहिद, घाईते तथा बेपत्ताका लागि भनेर राज्यले विशेष दिनको रुपमा माघ १६ लाई घोषणा गरेको बताए । उनले  राज्यको तर्फबाट आजको दिनलाई साझा दिनको रुपमा घोषणा गरेको हुँदा विभिन्न आन्दोलनका सहित, घाईते तथा   बेपत्ताहरूलाई आफूहरूले सम्मान गरेको बताए । 

उनले आगामी दिनहरूमा सहिद, घाईते र बेपत्ताका परिवारलाई आश्रित गराउने खालको कार्यक्रम ल्याउने  पनि बताए । उनले सहिद, घाईते र बेपत्ताका परिवारको थप व्यवस्थापनका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग पनि थप पहल गर्ने प्रतिवद्धता जनाए । यस्तै कार्यक्रममा बोल्दै  गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले सहिद, घाईते तथा बेपत्ता परिवारलाई राज्यले अपनत्व महसुस गर्दै सम्मान व्यक्त गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।  

उनले गाउँपालिकाभित्रका  सहिद, घाईते तथा बेपत्ता परिवार र द्वन्द्व पीडितहरूको अभिलेखीकरण गर्ने काम गर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै सहिद, घाईते र बेपत्ता परिवारका सदस्यहरूले व्यवस्था परिवर्तन भएपनि आफूहरूको अवस्था परिवर्तन हुन नसकेको गुनासो गरेका छन् ।

राष्ट्र निर्माणका लागि आफ्नो परिवारका सदस्यहरू तथा आफूहरूले निकै ठुलो योगदान गरेको भएपनि आरुलाई राज्यले उचित स्थान दिन नसकेको बताएका थिए ।  कार्यक्रममा सहिद परिवारका तर्फबाट बाबुराम पौडेल, घाईते अपाङ्गको तर्फबाट रमाकुमारी पुनमगर, खगेश्वर जीएम बादल बोलेका थिए । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नं. ३ का अध्यक्ष शोभराज विश्वकर्मा, ४  का अध्यक्ष डाँस बहादुर डाँगी, ५ का अध्यक्ष लिला बहादुर घर्तीमगर , ८ का अध्यक्ष झविन्द्र गाहमगर , कार्यापालिका सदस्य, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा गाउँपालिका भरीका सहिद, घाईते, बेपत्ता परिवारको सहभागिता रहेको थियो ।  कार्यक्रमको सहजिकरण गाउँपालिका महिला विकास शाखाका महिला विकास निरीक्षक कल्पना केसीले गरेकी थिइन् । 

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस