गेटमा लगाएको ताला खुल्यो
दाङ । तुलसीपुर उपमहानगरपालिकाको गेटमा लगाएको ताला खुलेको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र महोत्सव आयोजकबिच जुत्ता, फेन्सी, कस्मेटिक र इलेक्ट्रोनिक स्टल हटाउने सहमतिमा ताला खुलेको हो ।
उद्योग वाणिज्य संघले मेला आयोजकसंग भएको सहमती कार्यान्वयन नभएको भन्दै आइतबारदेखि उपमहानगरपालिकाको मुलगेटमा तालाबन्दी गरेको थियो । यही मंसिर १५ गते आयोजक युथ अफ तुलसीपुर र उद्योग वाणिज्य संघबिच ४ बुंदे सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभएपछि उद्योग वाणिज्य संघ र व्यवसायीहरु पुनः आन्दोलित भएर उपमहानगरपालिकाको मुलगेटमा ताला लगाएका थिए ।
सोमबार आन्दोलनरत पक्ष र मेला आयोजक बिच आपसी सहमतीमा स्टलहरु राख्न पाउने पनि सहमति भएको छ । युथ अफ तुलसीपुरले आइतबारदेखि तुलसीपुरमा मेलाको सुरूवात गरेको छ ।
लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन मेलाको लुम्बिनीका सिँचाई तथा जलस्रोत राज्य मन्त्रीले उद्घाटन गरेका थिए । सहमति विपरित मेला सञ्चालन गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसहितका पदाधिकारी र केही ब्यापारी कालो पट्टी बाँधेर विरोध प्रर्दशन गरेका थिए । उनीहरूले बिहान नौं बजेदेखि तुलसीपुरको घोराही चोकमा आधा घन्टा चक्काजाम गरि यातायातसमेत ठप्प पारेका थिए ।
आइतबारदेखि सञ्चालन भएको मेला पौष ६ गते सम्म सञ्चालन हुने युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए । महोत्सवमा करिब २ करोड कारोबार गर्ने लक्ष्य रहेको र २५ लाख बचत गरेर पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेकोे उनको भनाइ छ ।

