किसानलाई डेविट र क्रेडिट कार्ड

दाङ । दाङ तुलसीपुरका किसानलाई डेविट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का किसानहरुलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० जना किसानलाई डेबिट कार्ड र १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो ।
सीसा परियोजना,सीमिट इन्टरनेश्नल र आईडीई नेपालको आर्थिक सहयोगमा मेघा बैंकले उक्त डेविट र क्रेडिट कार्ड वितरण गरेको हो । डेविट र क्रेडिट कार्डले किसानहरुलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानहरुलाई खुसीको कुरा भएको वडाध्यक्ष डाँगीको भनाई थियो ।

आर्थिक अभाबले कृषि खेतिमा नै प्रभाब पार्ने अबस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनिकरण गर्न यसले भूमिका खेल्ने अध्यक्ष डाँगीको भनाई थियो । “क्रेडिट कार्डबाट किसानले मल, विउलगायत अन्य कृषि सम्बन्धी सामग्री चाहियो भने लैजान सक्नु हुन्छ”, उनले भने “यसले किसानलाई फाइदा पु¥याउँछ ।”
क्रेडिट कार्य प्राप्त किसानलाई विना धितो राज्यले २ लाखसम्म ऋण दिन्छ । सहुलियत कर्जाका रुपमा पाउने त्यो ऋण किसानहरुले कृषि उत्पादन विक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरुले त्यो ऋण कृषि सामग्री खरिद भन्दा अन्य कामकालागि प्रयोग गर्न पाउँदैनन् ।

त्यस्तै डेविट कार्डबाट किसानहरुले अनुदान सहयोग, क्षतिपूर्ति हालि दिनका लागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक बर्ष नवीकरण गर्नुपर्छ, भने डेविट कार्ड ५÷५ बर्षमा नवीकरण गर्नुपर्छ ।
पहिलो चरणमा वडा नं. १६ बाट वितरण गरिएको भएपनि सबै पालिकाका सबै किसानलाई उक्त कार्ड प्रदान गरिने सीसा परियोजनाका कार्यक्रम अधिकृत जंगबहादुर गुरुङले बताए । “सुरुवात वडा नं. १६ बाट भयो, १३ मा पनि वितरण गर्ने तयारी गरेका छौं”, उनले भने “अब हामीले उपमहानगरपालिकासंग समन्वय गरेर सबै वडामा पु¥याउने छौं ।” कार्ड पाएपछि किसानहरु पनि खुसी भएका छन् । आफूहरुले अनुदान पाउने गरि क्रेडिट कार्ड दिएपछि यसले थप सहज ल्याउने किसान बिरबल केसीले बताए ।