पीडितको समस्या सम्बोधनमा गम्भीर बन्न स्थानीय सरकारको ध्यानाकर्षण

दाङ । वर्षापछि आएको बाढीले देउखुरीका चार पालिकामा ठूलो मात्रामा भौतिक क्षति गरेको नागरिक समाज दाङले ठहर गरेको छ । वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको ५ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत संकलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाई भएको पाईएको समाजले जनाएको छ ।

बाढीका कारण भएको क्षतिबारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थिती बारे जानकारी लिन मंगलबार समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चारवटै पालिकामा पुगेको टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरेको ठहर गरेको हो । समाजका अनुसार, देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्बौको क्षतिभएको हुन सक्ने अनुमान गरिएको छ ।

असोजको १९, २० र २१ गतेको वर्षापछि आएको बाढीले जिल्लाको लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका विभिन्न वडामा गरेको क्षतिबारे जानकारी लिन पुगेको टोलीले पालिकास्तरबाट भईरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो । सो अवसरमा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति यादवले पालिका स्तरमा लगत संकलनका काम भई रहेको बताइन् ।

उनीले केही सामाजिक संघसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नु बाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गरिन् । उनीकाअनुसार, बाढीबाट बढी मात्रा प्रभावित भएकाहरु पालिकाको पहलमा सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएका छन् । तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाएको बताउँदै उनीले गंगदी र जंग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताइन् । राजपुरमा ६ सय घर परिवार प्रत्यक्ष प्रभावित भएको जानकारी गराउँदै उनीले उद्धारपछिको राहत वितरण गर्ने श्रोतको समस्या भएको बताइन् ।

यस्तै, गढवा गाउँपालिकाको वडा नम्बर २ र ५ का स्थानीयपनि बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । सो वडाका नागरिकको बस्ने खाने समेत समस्या भएपछि तत्कालका लागि सामुहिक मेस चलाएको गाउ ँपालिका अध्यक्ष यम नारायण पोख्रेलले बताए । उनकाअनुसार लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा २ सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको बताए । यस्तै, बाढीका कारण नमुना प्रावि पचहिया र प्रावि महदेवाको भौतिक संरचना पूर्ण रुपमा क्षति भएकाले पठनपाठन कसरी संचालन गर्ने भन्ने समस्या थपिएको बताए ।

सबै वडा बाढीबाट प्रभावित भए पनि कति घर परिवार प्रभावित भएका छन् भन्ने बारे यकिन विवरण संकलनभई नसकेको भएपनि ठूलो मात्रामा सहयोग आवश्यक पर्ने हुँदा पालिका एक्लैले धान्नन सक्ने उनले बताए । धानबालीमा भएको नोक्सानी बारे लगत लिन कृषि शाखाले काम अघि बढाएको तथा पशुपंक्षीको क्षतिबारे पशु शाखाले काम अघि बढाएको हुँदा क्षतिको यकिन विवरण संकलनमा ढिलाई भएको बताए । प्रारम्भिक जानकारी अनुसार ठूला क्षतिको अुनमानगरिएकाले प्रदेश र संघ सरकार, सहयोगीदाताको अपेक्षा गरेको बताए ।

लमही नगरपालिकाको विभिन्न वडामा पुगेर बाढीले पारेको प्रभावबारे जानकारी लिनुका साथै उद्धार र राहतमा अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी लिईएको थियो । सो अवसरमा, लमही नगरपालिका वडा नम्बर ७ हसनापुरका सत्य नारायण चौधरीले गाउँमा बाढी पस्दा ठुलो क्षतिभएको बताए । उनले काट्नका लागि तयार भएको करिब २० विगाहाभन्दा बढी धान काट्न नमिल्ने भएको छ । सो गाउँका गणेश राम चौधरी, लिला श्रेष्ठ, जयप्रकाश चौधरी, हरिप्रसाद चौधरी, रामबीर चौधरीलगायतको घरमा बाढी पस्दा भत्किएको छ ।

सो पालिकाको वडा नम्बर ८ सतबरीयाका छेदिराम चौधरीको घर डुब्दा सबै क्षति भएको छ । वर्षापछि आएको बाढीले घरमा रहेका सबै बगाएको लग्नुका साथै खाने कुरा पनि नभएपछि छिमेकीले दिएको चाउचाउ, बिस्कुट खाएर बस्नु परेको उनले बताए । गंगाराम चौधरीले २०१८ सालपछिको ठूलो बाढी आएको बताए । आफ्नो जीवन कालमा यति ठूलो बाढी पहिलो पटक देखेको बताए ।

राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीकी रानु चौधरीले पनिआफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताए । धानले भरिएको डेहरी फुटेर धान बगाई दिएको, खानेकुरालगायत केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको हरण लिएको बताइन् । यस्तै, गढवा गाउँपालिका वडा नम्बर २ महदेवाका रामगोपाल चौधरीले घरमा भएको अन्नलत्ता कपडा मात्रै नभई खोरमा बाँधिएका चौपाया समेत बगाएर लगिदिएको बताइन् । अहिले उनीको खोर रित्तै छ ।

बाढीले पु¥याएको क्षतिको अवस्था बारे जानकारी लिँदै नागरिक समाजले स्थानीय सरकारलाई पीडितहरुको पीडामा मलम लगाउने काममा ढिलाई नगर्न सचेत गराएको छ । यस्तै, स्थानीय पालिकालाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर व्यवस्थित बस्ती विकासको काममा जुट्न अपिलपनि गरेको छ । स्थगलगत अनुगमनमा नागरिक समाजका देउखुरी संयोजक निमबहादुर थापा, देउखुरी सचिव बाल मुकुन्द शर्मा यस्तै, जिल्लाका सदस्यहरु हरिप्रसाद पाण्डेय, पद्मप्रसाद शर्मा, छबिलाल कोपिला, दामोदर भण्डारी गएका थिए ।

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस