आज कालरात्रि देवीको उपासना, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ । पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ । 

करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम् ।
कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।
 

शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभित गर्नेवाला छ । कपाल फिजाएको छ भने उनको चार हात छन् । विद्युतको माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ । चार हातमध्ये एक हातमा तरवार एकमा काटिएको शीर र अर्को हालमा काटिएको शीरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ । देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभफल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ ।

कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रास समाप्त हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुँइचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

यसैबीच बडादसैंको सातौं दिन आज नेपाली परम्परा अनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ।

दुर्गा भवानीको प्रतिमा राखिएको हनुमानढोकास्थित दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।

नौ थरीको फूल वा पात हुने भएकाले यसलाई नवपत्रिका समेत भनिन्छ। यसलाई नवदुर्गाको पार्षद् अर्थात सहायकको रुपमा भित्र्याइने प्रचलन छ। केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ।

हनुमान ढोका दरवारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रही आएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, पञ्चेबाजा र साँस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस