स्यानी चौधरी भन्छिन् :‘अहिलेकै धावनमार्गमा ४२ सिटे जहाज बसाल्छु’

दाङ । दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा तीन महिनामा ठूला जहाज बसाल्ने महत्वकांक्षी योजना लिएकी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले यो अबधीमा ४२ सिटे बसाल्न सम्भव रहेको बताईन् ।

बुधबार धावनार्ग वरिपरिको झारपातलाई हटाउन ग्रेडरसहित पुगेकी उपप्रमुख चौधरीले तत्कालै ४२ सिटे जहाज बसाल्न सकिने बताइन् ।‘अहिलेकै धावनमार्गमा ४२ सिटे जहाज बसाल्न सकिन्छ, त्यसका लागि हामीले निजि क्षेत्रसंग समन्वय गर्नुपर्छ’, उनले भनिन्“मैले मेरो पाइलट साथीसंग कुरा गरिरहेकी छु, एयरपोर्ट सरसफाई हुने वित्तिकै बोलाउछु ।’

पाईटलले वरपर सफा गर्न भनेकाले त्यही अनुसार सफा गरेको र तीन महिनामा त्यहाँ ४२ सिटे जहाज बसालेर देखाउने समेत बताईन् । अहिलेको धावनमार्ग ७५० मिटर लम्बाई र ३० मिटर मात्रै चौडाई रहेको छ । यही धावनमार्गमा पनि अहिले आईरहेको भन्दा ठूला जहाज बसाल्न सकिने सम्भावना रहेको स्यानीको भनाई छ ।

अहिले १९ सिटे जहाज मात्रै बस्छ । त्यो पनि हप्तामा तीन दिन मात्रै । त्यसले गर्दा यहाँका नागरिकले सहज सेवा पाउन नसकेको भन्दै अहिले भन्दा ठूलो जहाज ल्याउने र दैनिक बनाउन सकेमा यातायात सेवा सहज हुने उनी बताउछिन् ।‘ ४२ सिटे जहाज दैनिक उडाउन सकियो भने यहाँका नागरिकले सहज सेवा पाउछन्’, उनले भनिन् ।

इन्धन डिपो पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । त्यो डिपो सञ्चालनमा आएमा इन्धनको पनि समस्या नहुँने भएपछि झनै सहज हुनको भनाई छ । एयरपोर्टमा केही दिन अघि संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।

केही दिनमा ७२ सिटे जहाज बसाल्नकालागि डीपीआर गर्न टोली आउने मन्त्री जीवनराम श्रेष्ठले त्यतिबेला आस्वासन दिएका थिए । डीपीआर पछि करिब १५०० मिटर लामो धावनमार्ग विस्तार गर्नकालागि आबश्यक बजेट ब्यबस्थापन हुने उनको भनाई थियो ।

२०११ सालमा स्थापना भएको उक्त एयरपोर्ट पुरानो भएपनि लामो समयदेखि स्तरबृद्धि हुन नसक्दा ठूला जहाज बस्न सकेका छैनन् । कहिले बन्द हुने र कहिल्यै खुल्ने अबस्था छ । एयरपोर्टमा अहिले दैनिक तीन दिन मात्रै सञ्चालन हुनेगर्छ । भाडा पनि महंगो छ । दाङ–काठमाडौं गर्दा १२ हजार भन्दा बढि भाडा तिर्नुपर्छ ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस