दाङका ८ स्थानमा दशैं-तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना

तुलसीपुर । दाङका आठ स्थानमा दशैं-तिहारलाई लक्षित गरेर नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा (असोज ५ गते) बुधबारदेखि नागरिक कक्ष स्थापना गरेका हुन् ।
जिल्लाको घोराही उपमहानगरपालिकाको बसपार्क, तुलसीपुर चोक, ट्राफिक चोक, तुलसीपुरको बसपार्क, लमहीको लमही बसपार्क, भालुवाङको बसपार्क, गढवा र अमिलियाको अमिलिया चोकमा यात्रु सहायता केन्द्र स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।
नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक मिलेर बसी बाहिरबाट आवतजावत गर्ने र घर फर्कने यात्रु तथा बटुवालाई सहयोग गर्ने उनले बताए । उनका अनुसार दशैं-तिहारको समयमा विशेष यात्रुको चाप बढी हुने भएकाले सवारी दुर्घटना बढी हुने गरेको छ । नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरणसम्बन्धी सवारी चालकलाई विभिन्न सचेतना गराउने छन् ।
गाडीको सिट क्षमताभन्दा बढी यात्रु तथा सामग्री हाल्न रोक लगाउने बताइएको छ । सुरक्षाकर्मीले सवारी अभावमा लामो समयसम्म अलपत्र परेका यात्रुलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने उनले बताए ।
त्यस्तै जिल्लाका विभिन्न स्थानमा दशैं–तिहारलाई लक्षित गरेर चौबिसै घन्टा सुरक्षागस्तीको व्यवस्थालाई कडा पारिएको र सुरक्षाकर्मी पहिलाभन्दा दोब्बर परिचालन गरिएको डिएसपी गौतमले जानकारी दिए ।