बिजौरी दहवन सडकखण्ड दशै अगावै खोलिने

तुलसीपुर । वर्षायाममा आएको पहिरोको कारण अवरुद्ध रहेको बिजौरी दहवन सडकखण्ड दशै अगावै खोलिने भएको छ । तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाका प्रमुखबीच भएको छलफल पश्चात् अवरुद्ध सडक सञ्चालनका लागि दुवै पालिकाले आफ्ना यान्त्रिक साधनहरु प्रयोग गरेर सञ्चालनमा ल्याइने भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाभित्र पर्ने सडकखण्डमा आएको पहिरो तुलसीपुरले हटाउने भएको छ भने रुन्टीगढी क्षेत्रमा आएको पहिरो रुन्टीगढीले हटाउने भएको छ । छलफलका क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पालिकाभित्र पर्ने सुंगुर खोलामा पालिकाकै बजेटमा संरचना निर्माण गरेर बाह्रै महिना सडक सञ्चालनमा ल्याएको बताए । उनले वर्षायाममा सबैभन्दा बढी जोखिम रहेको रानीबास क्षेत्रमा पुल निमार्णका लागि पालिकाको तर्फबाट पुल निर्माणका लागि प्राविधिक सर्वे गरिएको बताए । उनले अन्तरपालिका छलफल गरेर दुधरास छिल्लीकोट डुब्रिङ सडक, बिजौरी श्रीचौर दहवन सडक सञ्चालन र त्यस क्षेत्रमा भएका कृषिजन्य वस्तुको बजारीकरणमा सहयोग आदान प्रदान गर्न सकिने बताए ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले सडक क्षेत्रमा पुल निर्माण गर्नका लागि पुलको डिटेल सर्वे गरेर प्रदेश संघ सरकारमाफ्त माग गर्नका लागि दुवै पालिकाका नेतृत्वको अग्रसरतामा मात्रै सम्भव हुने बताए । उनले अन्तरपालिका छलफलबाट यस क्षेत्रको सडक, कृषि, पर्यटन क्षेत्रको विकास विस्तारका लागि सहयोग पुग्ने बताए ।

बिजौरी होलेरी दहवन सडकखण्डले तिनवटा जिल्लालाई जोड्ने गर्दछ । दाङको तुलसीपुर उपमहानगरपालिका, सल्यानको कपुरकोट गाउँपालिका र सल्यानको कपुरकोट गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने गर्दछ । बिजौरी हुँदै दहवन सडकखण्डको दुरी २८ किलोमिटर मात्रै रहेको छ ।

यस सडकबाट बाह्रै महिना सञ्चालनमा आउँदा रुन्टीगढी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरणमा टेवा पुग्ने स्थानीय शिक्षक भरत केसीले बताए ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस