मानवसेवा आश्रममा निशुल्क औषधी वितरण

दाङ । नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखाले सामाजिक उत्तरदायित्व वहन गर्दै मानवसेवा आश्रम तुलसीपुरमा निशुल्क औषधी वितरण गरेको छ । कार्यक्रममा आश्रमकी संचालिका सिर्जना अधिकारीले हेटौडामा केन्द्रिय कार्यालय रहेको मानवसेवा आश्रमको हालसम्म देशका १६ वटा जिल्लामा शाखा रहेको बताए । तुलसीपुरमा रहेको शाखाको व्यवस्थापन सन्तोषजनक रहेको र ६५ जना वेसहारा तथा सडक मानवहरुको उद्दार गरिए संगै सबैलाई उचित सरसफाई, खानपिन र औषधी उपचार तथा बसाईको प्रवन्ध गरिएको उनको भनाइ थियो । यति धेरै मेहेनतका साथ व्यवस्थापन हुँदै आएको संस्था हाल महंगो भाडा तिरेर सन्चालन गर्दा यसको व्यवस्थापनको निरन्तरता र दिगोपनमा कतै समस्या त आउने होइन ? भन्दै उनले चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रिय सदस्य शरदराज शर्माले आश्रममा रहेका बुवाआमाहरुको स्वास्थ्य लाभको कामना गर्दै छिट्टै पारिवारिक पुनर्मिलनको लागि शुभकामना दिए । साथै उनले स्थानीय सरकार वा निकाय तथा सरोकारवालाहरुले मानवसेवा आश्रमको व्यवस्थापनमा चासो देखाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्यले बिग्रदो मानव सभ्यता, मान्छेको स्वभाब तथा व्यहोरामा मानविय नैतिकता, आदर्श, मुल्य, मान्यता, दया, माया, करुणा र सद्वावको खडेरी परिरहेको अवस्थामा मानव सेवाको भावले अशक्त घरवार विहिन, मानसिक रुपले विक्षिप्त भएका, खानानाना र छाना विहिन मानवहरुको उद्दार गरी मानव कल्याणको काममा लागेका आश्रमका संस्थापक तथा व्यवस्थापकहरुलाई धन्यवाद दिए ।
नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखाका अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ढकालले मानवसेवा आश्रमलाई स्वास्थ्य उपचारको लागि औषधी उपलव्ध गराउने काममा निरन्तरता दिने र सम्भव हुन सक्ने हरेक सहयोगको लागि आफ्नो संस्था प्रतिवद्द रहेको धारणा व्यक्त राखेका थिए ।
दाङमा कृयाशिल औषधी थोक व्यवसायीहरुको उल्लेख्य मात्रामा उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण संघका जिल्ला शाखा सचिव मरिचमान धितालले गरेक थिए ।