टरिगाउँ विमानस्थल विस्तारमा तुलसीपुरको चासो

तुलसीपु । तुलसीपुर उपमहानगरपालिकाले टरिगाउँ विमानस्थल(धावनमार्ग) विस्तारका लागि सक्रियता बढाएको छ । २०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल धावनमार्गमा पटक–पटक सञ्चालन हुँदै बन्द हुँदै आएको छ । पछिल्लो पटक तुलसीपुर उपमहानगरपालिकाकै सक्रियतामा सञ्चालन हुँदै आएको छ । अहिले हप्तामा पाँच दिन उडान हुँदै आएको छ । सात सय ५० मिटर धावनमार्ग कालोपत्रे गरिएको छ । ३८ बिगाह क्षेत्रफल रहेको धावनमार्ग विस्तारका लागि थप ३० बिगाह जग्गा आवश्यक पर्ने प्रारम्भिक सर्वेबाट जानकारी भएको इन्जिनियर युवराज रिजालले जानकारी दिए ।
टरिगाउँ विमानस्थलबाट दाङ, रोल्पा, सल्यान, प्यूठानका करिब १८ लाख नागरिकले प्रत्यक्ष लाभ लिन सक्नेछन् । संघीय सरकारले यस विमानस्थलको विस्तृत विवरण प्रतिवेदनका लागि दुृई करोड बजेट विनियोजन गरेको छ । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले विमानस्थलको विस्तारका लागि आवश्यक पर्ने जग्गा व्यवस्थापनका लागि पालिकाको तर्फबाट काम अघि बढाइने बताए । त्यस्तै खाल्डा पुर्ने काम गरिने बताए । उनले इन्धन डिपोसम्म पुग्ने सडक कालोपत्रे, शौचालय निर्माणको काम सुरु गरिएको बताए ।
छलफल कार्यक्रममा पूर्व नगरप्रमुख घनश्याम पाण्डेले तीनवटै जिल्लाका स्थानीय सरकारले प्रत्येक वर्ष बजेटको व्यवस्थापन गरेर अघि बढ्न आग्रह गरे । कार्यक्रममा पूर्व नगरप्रमुख ढुण्डिराज लामिछाने, नेपाल सरकारका पूर्व सहसचिव रमेश अधिकारी, पर्यावरणकर्मी डिल्लीबहादुर रावत, शिक्षाप्रेमी डिल्ली अधिकारी नेकपा एमालेका जिल्ला सहसचिव कृष्ण भुसाल, नेपाली कांग्रेसका शेषमणि भण्डारीलगायतकाले बोलेका थिए । उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रवक्ता माधव वलीले गरेका थिए ।
उपप्रमुखको संयोजकत्वमा विमानस्थल सहयोग समिति
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा टरिगाउँ विमानस्थल सहयोग समिति गठन गरिएको छ । बुधबार तुलसीपुर उपमहानगरपालिकामा आयोजित टरिगाउँ एयरपोर्ट व्यवस्थापन सम्बन्धीत कार्यक्रममा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा दाङ, रोल्पा, सल्यानका पालिका, तीनवटै जिल्लाका उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ दाङ, यातायात व्यवसायी महासंघका प्रतिनिधि रहेको समिति गठन गरिएको हो ।
त्यस्तै सल्लाहकारमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व नगरप्रमुख, दाङ, रोल्पा, सल्यान जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघका तर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाललाई राखिएको छ ।