तुलसीपुरमा गाडीको गती जाँच गर्न ‘राडर गन’
दाङ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा राडर गन ल्याईएको छ । बजार क्षेत्रमा तीब्र गतिमा सवारी साधन चल्ने र दुर्घटना बढ्न थालेपछि त्यसको न्यूनिकरण गर्नको लागि तुलसीपुरमा राडर गन ल्याइएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख उत्तमकुमार जिसीले जानकारी दिए । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको सहयोगमा एक हप्ता पहिले राडर गन ल्याइएको जिसीले जानकारी दिए ।
राडर गनले तीनसय मिटर टाढासम्म कुन गाडी कति गतिमा गुडेको छ, त्यसको अंक गनमा देखाउँनुका साथै तस्बिर पनि खिच्ने भएकोले राडर गन निकै उपयोगी हुने अपेक्षा गरिएको छ । अब केही दिनमै राडर गनसहित ट्राफिक सडकमा पठाईने छ । राडर गन भिजाउन नमिल्ने र हिजोआज पानी परेकाले प्रयोगमा ल्याउन ढिला भएको ट्राफिक प्रहरीले बताएको छ । पानी फाटेसँगै राडर गनको प्रयोग गरिनेछ । राडर गन तुलसीपुरमा पहिलो पटक ल्याईको हो । राडर गन तुलसीपुरमा एक महिनासम्म राखिने भएको छ । राडर गन किन्नको लागि महंगो पर्ने भएकाले त्यही गन लुम्बिनी प्रदेशमा सबै जिल्लामा पालै पालो पठाईने छ ।
यसअघि ट्राफिकसँग मापसे चेक गर्ने ब्रेथलाइजर मेसिन मात्र थियो । गन संचालनमा आएसंगै अब बजार क्षेत्रभित्र सवारी साधन स्पिडमा चलाउन पाइने छैन । यसैबीच तुलसीपुरका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गती सिमित वोर्ड राखेको छ । बजार क्षेत्रको गति अब प्रति घन्टा २० किलोमिटरको हुने छ । त्यो भन्दा बढी भएमा जरीबान गरिने छ । प्रहरीका अनुसार दक्षिणमा एयरपोर्ट, पूर्वमा मोतिपुर गेट, पश्चिममा भ्याली पेट्रोल पम्प र उत्तरमा डाँडापातुलाई बजार क्षेत्र मानिने छ ।

