नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । श्रीलंकलाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हरायो ।

नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन् । यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १०औं मिनेटमा हिरा कुमारी भुजेलको क्रसमा घिसिङले हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

त्यसको एक मिनेटमै दायाँबाट आएको क्रसमा सरु लिम्बुको आकर्षक हेडिङ मार्फत गोल गरिन् । अनिता बस्नेतको कर्नरमा अमृता जैशीले १७ औं मिनेटमा हेडिङ गोल नै गरेर ३–० को अग्रता बनाइन् । ४०औं मिनेटमा अनिता केसीको प्रहारलाई भने लाइन्स म्यानले अफ साइड दिए ।

खेलको पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरेपछि नेपाल पहिलो हाफमा ४–० ले अघि भएको थियो । ७५औं मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोश्रो हाफको इन्जुरी समयमा अर्काे गोल थपिन् र खेल नेपालले ६–० ले जित्यो ।

नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह ए बाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनम पुगिसकेका छन् । भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिमको टुंगो लाग्ने छ ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस