आत्महत्या विरुद्ध सचेतना

दाङ । विश्व आत्महत्या रोकथाम दिवशको अवसरमा दाङको घोराहीमा सचेतना कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा आत्महत्या विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत आत्महत्या विरुद्धको सचेतनामूलक कार्यक्रम भएको हो । ‘आशा जगाऔँ, जिवन बचाऔँ’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा सचेतनामूलक प्रस्तुति एवं छलफल गरिएको थियो ।
केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले अत्महत्या बिरुद्धमा सचेतनामूलक प्रस्तुति गरेकी थिइन् । उनीले आत्महत्या भनेको के हो, आत्महत्या गर्नुका कारणहरु, आत्महत्या गर्ने सोच भएका व्यक्तीहरुमा देखिने लक्षणहरु, आत्महत्या जोखिमको लेखाजोखा, आत्महत्याको गम्भीरता, आत्महत्या न्यूनिकरणका उपायहरु लगायतका विषयमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगी, कार्यक्रम प्रमुख रमेश केसीलगायतले आत्महत्या विरुद्धको सचेतनामूलक भनाई राखेका थिए । प्रशासनिक सहायक अम्भीका वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लेखा सहायक अर्चना शर्माले गरेकी थिइन् । कार्यक्रममा ३५ जना द्धन्दपिडीत महिलाहरुको सहभागिता रहेको थियो ।