चोरी मुद्धाका थुनुवा अदालतबाट फरार
घोराही । घोराहीमा चोरी मुद्धामा पक्राउ परेका एक जना थुनुवा अदालतबाट फरार भएका छन् । विहीबार म्यादथपका लागि जिल्ला अदालत घोराहीमा ल्याएको समयमा सौचालय जाने बाहना बनाएर पक्राउ परेका घोराही उपमहानगरपालिका १७ चौघेरा निवासी २२ बर्षीय लक्ष्मण विश्वकर्मा भागेका हुन ।
सुन चोरी आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका विश्वकर्मालाई बिहीबार दिउँसो म्यादथपका लागि जिल्ला अदालतबाट प्रहरीले लगेको थियो । म्याद थपका लागि अदालत लगिएको समयमा विश्वकर्माले शौचालय जान्छु भनेर गएको र त्यहीँबाट भागेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक बीरबहादुर वलीले जानकारी दिएका छन् ।
‘सौचालय जान्छु भनेपछि उसलाई अदालतभित्रकै शौचालय जान दिइएको रहेछ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरिक्षक वलीले भने,‘सौचालय गएको मानिस लामो समयसम्म ननिस्किएपछि ढोका फोरेर हेर्दा ऊ शौचालयमा थिएन ।’ प्रहरीका अनुसार थुनुवा विश्वकर्मा सौचालयको झ्याल फोरेर भागेका छन् । फरार विश्वकर्माको अहिले खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।

