दाङमा मानव बेचबिखनका ५ बर्षमा १३ मुद्दा, १५ पीडित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा बितेको पाँच बर्षमा मानव बेचविखनका १३ वटा मुद्दाहरु दर्ता भएका छन् । दर्ता भएका १३ मुद्दाहरुमा १५ जना पीडित भएका छन् । उनीहरुमध्ये आर्थिक बर्ष २०७५/०७६ मा ३ जना, आर्थिक बर्ष २०७६/०७७ मा १ जना, आर्थिक बर्ष २०७७/०७८ मा ५ जना, आर्थिक बर्ष २०७८/०७९ जनामा ५ जना र चालुआर्थिक बर्ष १ जना पीडित भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बीरबहादुर वलीले बताएका छन् ।

पाँच बर्षको अवधिमा प्रहरीले मुद्दा परेका १८ पीडकहरुमध्ये १३ जनालाई पक्राउ गरेको छ भने बाँकी पक्राउ पर्न सकेका छैनन् । प्रहरी प्रमुख वलीले प्रहरीमा मुद्दा परेकामध्ये ११ वटा फच्र्यौट भएको र २ वटा मुद्दाहरु अनुसन्धानका क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वलीले जानकारी दिए ।

प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वलीका अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा ३ वटा, आर्थिक बर्ष २०७५/०७६ मा ३ वटा, आर्थिक बर्ष २०७६/०७७ मा १ वटा, आर्थिक बर्ष २०७७/०७८ मा २ वटा, आर्थिक बर्ष २०७८/०७९ मा ३ वटा र चालु आर्थिक बर्षको करिब डेढ महिनाको अवधिमा एक वटा मानव बेचविखन तथा ओसार–पसारको मुद्दा जिल्ला प्रहरी कार्यालय दाङमा दर्ता भएका छन् ।

प्रहरी प्रमुख वलीले पछिल्लो पाँच बर्षको तथ्यांकलाई हेर्दा दाङमा मानव बेचविखन तथा ओसार–पसारको अपराध बढ्दो अवस्थामा रहेको बताए । उनले मानव बेचबिखनका अधिकांश घटनाहरुमा शिक्षित व्यक्तिहरु गरेको र उनीहरुले आर्थिकरुपमा कमजोर घर–परिवारका मानिसहरुलाई बिक्री गर्ने गरेको बताए । ‘मानव बेचबिखनको पाँच बर्षको अवस्थालाई विश्लेषण गर्दा दाङमा बेचविखनको अवस्था बढ्दै गएको छ’, प्रहरी प्रमुख वलीले भने– ‘बेचविखनको कार्यमा अधिकांश शिक्षित परिवारका मानिसहरु संलग्न छन् ।’

उनका अनुसार बेचिनेहरु अधिकांशलाई यौन शोषण तथा वेश्यावृत्तिमा लगाइने गरिएको पाइएको छ । त्यसका साथै पछिल्लो समय विभिन्न आर्थिक प्रलोभन पारेर मोटो रकम लिएर दलालहरुले युवा तथा युवतीहरुलाई खाडी मुलुकदेखि युरोप तथा अमेरिकासम्म पु¥याउने गरिरहेकाले मानव बेचबिखन विषय समुदायस्तरसम्मै सचेतना आवश्यक रहेको वलीले बताएका थिए । उनका अनुसार नेपालबाट प्रत्येक वर्ष ५ देखि १० हजार महिला तथा बालबालिका बेचिएर भारत पुग्ने गरेको प्रहरीको तथ्यांक रहेको छ ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले प्रहरीको तथ्यांकले दाङमा मानव बेचबिखनका घटनाहरु बढ्नसक्ने जोखिम रहेको भन्दै समुदायस्तरमै सचेतनाका कार्यक्रमहरु आवश्यक रहेको बताएका थिए । साथै उनीहरुले मानव बेचविखनमा संलग्नहरुले अनेकन जालझेल गरेर आर्थिकरुपमा कमजोर तथा अशिक्षित नागरिकहरुलाई फसाउने गरेको भन्दै त्यसका विरुद्धमा तीनै तहका सरकारहरुले पहल गर्नुपर्नेमा समेत जोड दिएका थिए ।

मानव बेचबिखन बिरुद्धको जिल्ला समिति दाङको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहआयोजनामा सोमवार घोराहीमा भएको १६औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख हुमा डिसीले मानव बेचबिखनका घटनाहरुलाई रोक्नका लागि सचेतना आवश्यक रहेको बताइन् । त्यसका लागि उनले सचेतनामुलक कार्यक्रमहरु समुदायस्तरसँगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई सिकाउनुपर्ने बताइन् । त्यसका लागि स्थानीय सरकारका रुपमा आफू सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका उपाध्यक्ष सन्तोष सुवेदी, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरीलगायतले बोलेका थिए । सीसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन दाङ शाखाका प्रबन्धक बसन्त खनालले गरेका थिए

खुला सीमाका कारण मानव बेचबिखन

यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले खुला सीमाका कारण मानव बेचबिखन बढेको बताए । मानव बेचबिखनविरुद्धको दिवसको अवसरमा वैदेशिक रोजगारबाट फर्किएका श्रमिक महिलाहरुको सामाजिक एकीकरण अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले खुला सीमानाका कारण भारत हुँदै विभिन्न देशमा गैह्र कानुनीरुपमा श्रम गर्न जाने क्रममा महिलाहरु बेचबिखनमा परिरहेको बताए ।

खड्काले वैदेशिक रोजगारमा जाने क्रममा सम्पूर्ण कुराको जानकारी लिएर मात्रै जान आग्रह गरे । ‘पालिकामामा समेत वैदेशिक रोजगार जानुपूर्व अपनाउनुपर्ने विधि प्रक्रियाका बारेमा जानकारी दिने व्यवस्था गरिएको छ, कम्तीमा एकपटक सूचना लिने काम गर्नुहोस्’, नगरप्रमुख खड्काले भने । उनले नेपालीमा एकैपटक धेरै कमाउने र उपभोक्तावादको असरले नेपालमा प्राप्त हुने अवसरलाई पछ्याउन नसक्दा सास्ती ब्यहोर्नुपरेको बताए । उनले पालिकाबाट महिला उद्यमीहरुका लागि प्रोत्साहनका कार्यक्रम ल्याएकाले त्यससँग जोडिन आग्रह गरे ।

उपप्रमुख स्यानी चौधरीले नेपालमै विभिन्न रोजगारीका अवसर हुने भएकाले त्यसलाई अनुशरण गर्न आग्रह गरिन् । कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक किरण गौतमले बेरोजगार नागरिकहरुका लागि सय दिने रोजगारी दिन सकिने र त्यसका लागि सम्बन्धित वडा कार्यालयमार्फत् विधि प्रक्रिया पु¥याएर जोडिन आग्रह गरे ।

कार्यक्रममा श्रमिकका लागि मात्रै बजेट विनियोजन गरिने भएकाले स्थानीय सरकारले श्रमिकका लागि आवश्यक पर्ने सामग्रीको प्रबन्ध गरिनुपर्ने बताए । कार्यक्रममा प्रतिवेदन तयार पार्ने सुष्मा अधिकारीले बढ्दो बेरोजगारी, महंगी जीवनशैली, घरेलु हिंसा, गरिबी र आर्थिक अभावका कारण महिलाहरु बैदेशिक रोजगारमा जानुपर्ने बाध्य रहेको बताइन् । उनीले महिलाहरुका लागि उद्यमीशलताका लागि सरकारले बजेटको व्यवस्थापन गर्नुपर्ने बताइन् ।

कार्यक्रममा तुलसीपुुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बजारमा दक्ष जनशक्तिको अभाव रहेको बताए । ‘हामीसँग आवश्यक जनशक्ति नै छैन, सबैलाई रोजगारी चाहियो भन्ने आवाज आउँछ तर बजारमा खोज्दा श्रमिक पाउन कठिन छ’, उनले भने । कार्यक्रममा महिला बालबालिका तथा सामाजिक शाखाका प्रमुख माया श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रम सुष्मा मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस