खुल्ला सीमाका कारण मानव बेचबिखन बढ्यो : नगरप्रमुख खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले खुला सीमाका कारण मानव बेचबिखन बढेको बताए । मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा वैदेशिक रोजगारबाट फर्किएका श्रमिक महिलाहरुको सामाजिक एकिकरण अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले खुला सीमानाका कारण भारत हुँदै विभिन्न देशमा गैह्र कानुनीरुपमा श्रम गर्न जानेक्रममा महिलाहरु बेचबिखनमा परिरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका खड्काले वैदेशिक रोजगारमा जाने क्रममा सम्पूर्ण कुराको जानकारी लिएर मात्रै जान आग्रह गरे । उनले भने पालिकामामा समेत वैदेशिक रोजगार जानुपूर्व अपनाउनुपर्ने विधि प्रक्रियाका बारेमा जानकारी दिने व्यवस्था गरिएको छ, कम्तिमा एक पटक सूचना लिने काम गर्नुहोस् ।

उनले नेपालीमा एकै पटक धेरै कमाउने र उपभोक्तावादको असरले नेपालमा प्राप्त हुने अवसरलाई पछ्याउन नसक्दा सास्ती व्यहोर्नु परेको बताए । उनले पालिकाबाट महिला उद्यमीहरुका लागि प्रोत्साहनका कार्यक्रम ल्याएकाले त्यससँग जोडिन आग्रह गरे ।

उपप्रमुख स्यानी चौधरीले नेपालमै विभिन्न रोजगारीका अवसर हुने भएकाले त्यसलाई अनुसरण गर्न आग्रह गरे । कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक किरण गौतमले बेरोजगार नागरिकहरुका लागि एक सय दिने रोजगारी दिन सकिने र त्यसका लागि सम्बन्धित वडा कार्यालयमार्फत् विधि प्रक्रिया पु¥याएर जोडिन आग्रह गरे । कार्यक्रममा श्रमिका लागि मात्रै बजेट विनियोजन गरिने भएकाले स्थानीय सरकारले श्रमिकका लागि आवश्यक पर्ने सामग्रीको प्रधन्ध गरिनुपर्ने बताए ।

कार्यक्रममा प्रतिवेदन तयार पार्नुहुने सुष्मा अधिकारीले बढ्दो बेरोजगारी, महगंी जीवनशैली, घरेलु हिंसा, गरिबी र आर्थिक अभावका कारण महिलाहरु बैदेशिक रोजगारमा जानुपर्ने बाध्य रहेको बताए । उनले महिलाहरुका लागि उद्यमीशलताका लागि सरकारले बजेटको व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बजारमा दक्ष जनशक्तिको अभाव रहेको बताए । उनले भने हामीसंग आवश्यक जनशक्ति नै छैन, सबैलाई रोजगारि चाहियो भन्ने आवाज आउँछ तर बजारमा खोज्दा श्रमिक पाउँन कठिन छ । उनले १९ वटै वडामा पुगेर वैदेशिक रोजगारमा पुगेका महिलाहरुको तथ्यांक संकलन गरेर कृषि उद्यममा जोड्न आग्रह गरे ।

कार्यक्रममा महिला बालबालिका तथा सामाजिक शाखाका प्रमुख माया श्रेष्ठले समेत कार्यक्रमका बारेमा जानकारी गराइकी थिइन् । कार्यक्रम सुष्मा मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस