दाङका ३ स्थानीय तहमा अटवारी पर्वको अवसरमा बिदा

दाङ । दाङका ३ स्थानीय तहले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएका छन् । स्थानीय बिदामा मिलान हुने गरी तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा यही भदौ १२ गते आइतबार सार्वजनिक बिदा दिने भएका हुन् ।
हरेक वर्ष कृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार र कुशेऔंसी पछिको पहिलो आइतबार मनाउँदै आएको अटवारी पर्व यस वर्ष १२ गते परेको छ । दाङ जिल्ला थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । यहाँका थारू समुदायले आफ्नो कला, संस्कृति तथा परम्पराअनुसार चाडपर्व हर्षोल्लासको साथ मनाउने गरेका छन् ।
यसैबीच, तीन स्थानीय तहका प्रमुखले थारू जातिको अटवारी पर्वको अवसरमा शुभकामना दिँदै कला, संस्कृतिको संरक्षणका लागि आफूहरूको साथ सहयोग सधैँ रहने बताएका छन् । यस्तै लुम्बिनी प्रदेश सरकारले पनि थारू जातिको अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा अटवारी पर्व मनाउने समुदायलाई आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयले भदौ १२ गते सार्वजनिक बिदा दिने जनाएको छ ।


