बिमाको लोभमा गाडीमा आगो लगाउने गाडी धनिसहित ३ जना पक्राउ

दाङ । दाङमा प्रहरीले नेपाल बन्दको नाममा आफ्नै सवारी साधनमा आगो लगाउने कार्यमा संलग्न ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा टिपर धनी घोराही उपमहानगरपालिका १८ का ४३ वर्षीय धनेश्वर भण्डारी, चालक राप्ती गाउँपालिका ८ पिपरिया दाङका ३२ वर्षीय अरुण चौधरी र गढवा गाउँपालिका ७ चन्दनपुरका १७ वर्षीय सहचालक आकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान करिब सवा ५ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानी स्थित बबई खोलाको पुल नजिक गोग्लीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको खाली टिपरमा बन्दकर्ताहरूले आगजनी गरेर फरार भएको सूचना आएको थियो । उक्त सूचना आउँने वित्तिकै प्रहरी चौकी गोग्ली र वडा प्रहरी कार्यालय घोराहीबाट दमकलसहित प्रहरी पुगेर आगो नियन्त्रणमा लिएका उनले जानकारी दिए ।
यस्तै आगो नियन्त्रणपछि टिपर धनी, चालक र सहचालकलाई जिप्रका ल्याएर सोधपुछ गर्दा बिमा दाबीको लागि आफूहरूले नै आगो लगाएको प्रहरीलाई बताएको उनले जानकारी दिए । उनले भने,‘ टिपर पुरानो भइ जीर्ण भइसकेकाले बिमा दाबीको लागि टिपर धनी भण्डारीले चालकलाई आगो लगाउन निर्देशन दिएका रहेछन् ।
चालक र सहचालकले डिजेल खन्याई आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरूमाथि आपराधिक लाम शीर्षकमा मुद्दा दर्ता भइ अनुसन्धान कार्य जारी रहेको छ । ’ प्रहरीका अनुसार मुलुकी अपराध ( संहिता ) २०७४ को परिच्छेद २१ को दफा २५३ को उपदफा १ र २ बमोजिमको परिभाषित कसुरमा सोही दफाको उपदफा ३ ( ग) बमोजिम १ वर्षसम्म कैद र दश हजारसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ ।