नवौ राष्ट्रिय खेलकुदका लागि भदौ १७ देखि जिल्ला छनोट हुने

दाङ । ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्ला स्तरिय खेलाडी छनोट यहि भदौ १७ गतेदेखि सुरु हुने भएको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खेल सम्बद्ध संघको समन्वयमा संचालन हुने छनोट प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ११ बजे बेल्झुण्डी रंगशालामा गर्ने कार्यक्रम तय भएको छ ।
दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षतामा आज सोमबार बसेको पुर्ण बैठकले जिल्लाबाट प्रतिनिधित्व गर्ने २९ खेलको छनोट तालिका, खेल स्थल र जिम्मेवारी बाड्फाडसहित भदौ १७ देखि १९ गतेसम्म जिल्ला छनोट सम्पन्न गर्ने निर्णय गरेको समितिका कार्यालय प्रमुख शान्ती सोमैले जानकारी दिइन् ।
बैठकले अध्यक्ष हमाल संयोजक रहेको २५ सदस्यीय प्रतियोगिता संचालन मुल समिति तथा चार सदस्यीय अनुगमन समिति र मुल समितिको मातहतमा रहने गरि विभिन्न खेलका उपसमिति संयोजक समेत तोकेको छ । जस अनुसार तेक्वान्दो, कराते, बक्सिङ, टेवलटेनिस, शारीरिक सुगठन खेलको संयोजकमा समितिका कोषाध्यक्ष ध्रुव आचार्य, बुद्धिचाल, रग्बी, भलिबल र एथलेटिक्स खेलको संयोजकमा उपाध्यक्ष पाल्पी चौधरी, कबडी, ह्याण्डबल र बास्केटबल संयोजकमा सदस्य सन्तोष लामिछाने, उसु, साईकिलिङर सुटिङ संयोजकमा सुटिङ प्रशिक्षक तथा कार्यालय प्रमुख शान्ती सोमै, भारोत्तोलन र जुडो खेलको संयोजकमा सदस्य सन्तोष वलि, फुटबल खेल संयोजकमा सदस्य अनिल रिजाल, फुलकन्ट्याक कराते संयोजक सदस्य नोखी रावत, सफ्ट टेनिस र आईटिएफ तेक्वान्दो संयोजकमा सदस्य रबि श्रेष्ठलगाएत रहेका छन् ।
छनोट प्रतियोगिता जिल्लाका तुलसिपुर, घोराही, लमही र बेल्झुण्डीमा हुनेछ । सो अबसरमा जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख मित्र गौतम, ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्ल, दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष गीता बस्नेत राई, क्रिकेटका लुम्बिनी र कर्णाली प्रदेश छनोट समितिका संयोजक कैलाश रोका, दाङ जिल्ला टेवल टेनिस संघका अध्यक्ष सीता राम शर्मा, दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारी, एथलेटिक्स मुख्य प्रशिक्षक पद्मा चौधरी, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु क्षेत्री, बास्केटबलका बिपिन केसि, कराते प्रशिक्षक बलराज नेपाली, दाङ जिल्ला सुटिङ संघका अध्यक्ष केशव चौधरीलगायतकाले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले संचालन गरेका थिए ।