तुलसीपुरको स्थानीय पाठ्यक्रम तयार

दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रम कक्षा पाँच र आठ बाहेक अन्य कक्षामा यसै वर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ । स्थानीय पाठ्यक्रम कक्षा एकदेखि आठ सम्मका लागि तयार पारिएको होे । पाठ्यक्रम २०७८ पौष महिना देखि सुरु गरिएको थियो ।
पाठ्यक्रममा कक्षा एकदेखि पाँचसम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा,पेसा, व्यवसाय र प्रविधि, मानवीय मूल्य र स्वास्थ्य शिक्षा, वातावरण र कर्तव्य, दुर्घटना र विपद् व्यवस्थापन शीर्षकमा तयार पारिएको छ भने कक्षा ६,७ र ८ का यी विषय वस्तुसहितको व्यवहारिक लेखनलाई समेत समेटिएको छ । पाठ्यक्रम भित्र सामाजिक, आर्थिक, धार्मिक, पर्यावरणीय विषय वस्तुहरूलाई समेटिएको छ ।
यसैबीच स्थानीय पाठ्यक्रमको बिहीवार सार्वजनिक गरिएको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख खड्काले तत्कालै विद्यालयमा पाठ्यक्रम पुर्याइने बताए । उनले पाठ्यपुस्तकका रुपमा तयार पार्ने कामलाई समेत तीव्रता दिइने बताए । उनले तुलसीपुर क्षेत्रको शिक्षाको अवस्थालाई माथि उठाउनका लागि सामुदायिक र संस्थागत विद्यालयहरूको भूमिका महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा उपप्रमुख स्यानी चौधरी, वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरी, सामुदायिक विद्यालयका तर्फबाट नारायण भण्डारी, संस्थागत विद्यालयका तर्फबाट लेवेन्द्र केसीले मन्तव्य व्यक्त गरेका थिए । पाठ्यक्रम निर्माण तथा लेखन समितिको संयोजकमा शाखाका प्रमुख चक्रबहादुर भण्डारी, सदस्यहरूमा झरेन्द्र खरेल, नारायण भण्डारी, खगेन्द्रप्रसाद काफ्ले, दिनेश डाँगी, झक्कुप्रसाद केसी, लेबेन्द्र केसी, मधुसुदन गौतम, सुनिता यादव, मदनकृष्ण देवकोटा, ज्ञानबहादुर डाँगी र सदस्य सचिवमा मनबहादुर खड्का रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख चक्रबहादुर भण्डारीले व्यक्त गरेका थिए भने सञ्चालन पाठ्यक्रम निर्माण तथा लेखन समितिका सदस्य सचिव मनबहादुर खड्काले गरेका थिए ।