हेमराज हत्याकाण्ड १२ वर्ष : अझै हत्यारा पत्ता लागेन

दाङ ।  तुलसीपुरका सञ्चार उद्यमी हेमराज धितालको हत्या भएको शुक्रबार १२ बर्ष पूरा भएको छ । तर १२ वर्ष बितिसक्दा पनि हत्यारा भने पत्ता लाग्न सकेको छैन् । दाङको तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष धितालको हत्या तत्कालिन कांग्रेसको चुनाव प्रचारप्रसार गरेर फर्कने क्रममा २०६७ साल साउन ६ गते भएको थियो । उनको  तुलसीपुर उपमहानगरपालिका १२ हेमनगरमा अज्ञात समुहले गोली हानी हत्या गरेका थियो । देवीप्रसाद धिताल ( हेमराज ) प्रतिष्ठानले धितालको सम्झनामा प्रत्येक वर्ष साउन ६ गते अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले देवी प्रसाद धिताल ( हेमराज )  हत्याको फाइल बन्द भैनसकेको बताउँदै अनुसन्धान जारी रहेको बताए । ढिलोचाँडो एक न एक दिन पक्कै पनि अपराधी कानुनी कटघरामा उभिनेमा आफू विश्वस्त रहेको प्रजिअ रेग्मीले बताए । ‘आफू दाङमा आएको दिनमै पत्रकारको प्रश्ननै हेमराज हत्या काण्डको हत्यारा कहिले पत्ता लाग्छ तपाईंको कार्यकालमा हुन्छ ,कि हुँदैन भन्ने थियो’, प्रजिअ रेग्मीले भने ।

उक्त दिनदेखि आफू हेमराज हत्याकाण्डको विषयमा बुझ्न खोजेको बताए । प्रजिअ रेग्मीले अनुसन्धान गर्दा केही प्राविधिक समस्या हुन्छन् शंकाले मात्र पुग्दैन, ठोस प्रमाण पनि चाहिने भएकोले अझै केही समय लाग्ने र सबैलाई हत्यारा पत्ता लाग्छ भन्नेमा ढुक्क हुन आग्रह गरे । नेपाल प्रहरी धितालको हत्यारालाई पक्राउ गर्न एक न एक दिन सफल हुन्छ । यो कुरामा ढुक्क हुनमा आम नागरिक, परिवार निश्चिन्त हुन आग्रह गरे ।

त्यस्तै नागरिक समाज, परिवार लगायतले अहिलेसम्म पनि हत्यारा पत्ता लगाउन नसक्नु कानुनको ‘धज्जी’ उडाएको गुनासो गरेका छन् । समाज त्रसित छ कसरी कानुनको भरोसा गर्ने दिन दहाडै मान्छेलाई हत्या गरिन्छ । ९०५ अनुसन्धान भैसकेको आफै पुलिस भन्छ तर १२ वर्षसम्म पनि गुमनाम हुनु दुख पक्ष रहेको परिवारले गुनासो व्यक्त गरे ।

हेमराजको परिवारका सदस्यले कि हत्यारा टुंगो लगाउनु पर्यो कि भने फाइल बन्द भयो भनेर भनिदिनु पर्यो भनेर प्रजिअ रेग्मीलाई गुनासो सुनाए । हेमराज स्मृति प्रतिष्ठान एवम् धितालको परिवारले ६ बुँदे मागसहित नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई प्रजिअ रेग्मी र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख श्यामु अर्याललाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस