कृषि क्षेत्रमा लगानी गर्नुस् बजार सुनिश्चित गर्छौ : नगर प्रमुख

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बैंकहरुलाई कृषि, उद्यम क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पालिकाको समन्वयमा आयोजना गरिएको छलफल कार्यक्रममा नगरप्रमुख खड्काले बैंकिङ क्षेत्रलाई उद्यम, कृषि क्षेत्रमा गरिएको लगानीको बजार सुनिश्चिताको वातावरण पालिकाको तर्फबाट गरिने बताए ।
उनले सामाजिक सुरक्षा भत्ता वितरणका लागि सम्बन्धित क्षेत्रमै पुग्नका लागि सुरक्षाको प्रबन्ध गरिने बताए । खड्काले भने पछिल्लो समयमा दुध, तरकारी फलफूल बजार व्यवस्थापनका लागि पालिकाको तर्फबाट विभिन्न स्थानमा हाट बजार सञ्चालनको प्रयास भइरहेको बताए । खड्काले कृषि र उद्यम क्षेत्रमा भूमिहीनहरुका लागि विना धितोमा कर्जा प्रवाह गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले गत वर्ष सामाजिक सुरक्षा भत्ता नवीकरण नभएका कारण आठ सय ५० जना वञ्चित भएको भन्दै नवीकरण गर्ने कार्यलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
कार्यक्रममा बैकका प्रमुखहरुले सामाजिक सुरक्षा भत्ता वितरणका लागि सम्बन्धित ठाउँमै पुगनका लागि सुरक्षाको प्रबन्ध गर्न, पालिकाले सम्पूर्ण बैंकहरुलाई आफ्नो सेवा प्रवाहमा जोड्न आग्रह गरेका थिए । साथै वास्तविक किसानहरु समक्ष कर्जा लगानीको वातावरण सुनिश्चिता गर्न आग्रह गरेका हु्न् । तुलसीपुर क्षेत्रमा रहेका २० वटा बैकका प्रमुखहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रमको संयोजन तुलसीपुर बैकर्स क्लबले गरेको थियो ।