उद्योग व्यवसाय धमाधम बन्द

दाङ । दाङमा साना उद्योग व्यवसाय उल्लेख्य रुपमा बन्द भएका छन् । दर्ता भई सञ्चालन रहेका उद्योग व्यवसाय बन्द गर्नेको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ । उद्योग व्यवसाय चल्न नसकेपछि व्यवसायीहरुले दर्ता भएका उद्योग, व्यवसायको लगत कट्टा गर्न थालेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा भन्दा २०७८/०७९ मा उद्योगको लगत कट्टा गर्ने व्यवसायीको संख्या बढेको देखिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा दुई सय सात उद्योग र वाणिज्यतर्फ दुई सय ८० गरी चार सय ८७ व्यवसायीले व्यवसाय बन्द गराएका थिए । तर त्यो संख्या बढेर आर्थिक वर्ष २०७८ मा उद्योगतर्फ दुई सय १९ र वाणिज्यतर्फ तीन सय ४१ गरी पाँच सय ६० व्यवसाय बन्द भएका छन् ।

२०७९ असार मसान्तसम्म एक वर्षको अवधिमा गत वर्षभन्दा ७३ वटा बढी उद्योगको लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जानकारी दिएको छ । व्यवसाय चलाउन नसक्ने विभिन्न कारण देखाउँदै व्यवसाय बन्द गराएको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग अधिकृत उमबहादुर ओलीले साझा टाइम्सलाई जानकारी दिए ।

उनले बैंकले ऋण नदिदा, उत्पादित सामग्री बिक्री गर्न नसक्दा, जनशक्ति अभाव तथा आधुनिक तरिकाले व्यवसाय गर्न नसक्दा व्यवसाय बन्द गर्नुपरेको व्यवसायीले कारण देखाउने गरेको बताए । लगत कट्टा गर्नेमा पर्यटन, कृषि, मिल, होटल, प्रशिक्षण केन्द्रलगायत सबै किसिमका व्यवसाय रहेको उद्योग अधिकृत ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस