अस्पतालमा टिकट, बेड र रक्त सेवा निःशुल्क
दाङ । लुम्बिनी प्रदेश सरकारले आइतबारदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आकस्मिक र बहिरङ्ग सेवाको टिकट तथा जनरल बेड शुल्क र रक्त सेवा नि : शुल्क गरेको छ । लुम्बिनी प्रदेशमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजित चौधरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट यो सेवाको शुभारम्भ गरेका हुन् । उनले निःशुल्क सेवालाई उद्घाटन गर्दै प्रदेशका १२ जिल्लाका ५० शैयाका अस्पतालहरूबाट पनि आकस्मिक र बहिरङ्ग सेवाको टिकट तथा जनरल बेडको र रक्त सेवा निःशुल्क प्रदान गर्न लागेको बताए ।
उनले अहिले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालबाट यो सेवा शुरु गरेको भन्दै यो सेवाले बिरामीहरूको आकर्षण बढोस् भन्ने उद्देश्य रहेको पनि उल्लेख गरे । उनले भने,‘ अहिले यि अस्पताल रिफर सेन्टरका नाममा रहेका छन् । अब यसरी निःशुल्क सेवा प्रदान गर्दा यि अस्पताल रिफर सेन्टर नभइ जिल्लाका अन्य अस्पतालबाट बिरामीहरू उपचार गर्न आउन भन्ने उद्देश्य रहेको छ । अस्पतालमा बिरामीहरूको आकर्षण बढोस्, प्रादेशिक अस्पतालमा निःशुल्क सेवाहरू प्राप्त हुन्छन्, भन्ने उद्देश्यसहित अहिले २ अस्पतालबाट यो सेवा शुरु गरिएको हो । ’
उनले आधारभुत शिक्षा र स्वास्थ्य अहिलेको संविधानले राज्यको दायित्वमा पारेको भन्दै यो पुरा गर्ने जिम्मा राज्यको भएको पनि बताए । उनले भने,‘ आधारभुत स्वास्थ्य सेवा स्थानीय सरकारको दायित्वमा रहेको छ । स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको छ । विशेष प्रकारका सेवाहरू प्रदान गर्ने संघीय सरकारको रहेको छ । स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा ओपिडी, जनरल बेड, रक्त सेवा निःशुल्क गरेको हो । ’ यस्तै उनले राप्ती प्रादेशिक अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालका रुपमा विकास गर्ने योजना रहेको पनि बताए ।
अहिले राप्ती प्रादेशिक अस्पताल ५० शैयाको दरबन्दीमा सञ्चालन भइरहेको भन्दै उनले यसलाई प्रदेश सरकारले ४०० शैयाको बनाउनको लागि गुरुयोजना तयार गरेको पनि उनले उल्लेख गरे । उनले भने,‘ हामीले यस अस्पताललाई ४०० शैयाको अस्पतालमा विकास गर्न लागेका छौँ । यहाँका भौतिक संरचनाहरू निर्माण गर्ने र स्वास्थ्य दरबन्दी उपलब्ध बनाउन प्रदेश सरकारले काम गर्न लागेको छ । ’ उनले प्रसूति भवन अस्पताललाई हस्तान्तरण भइसेकेको भन्दै त्यो भवनबाट प्रभावकारी प्रसूति सेवा दिनको लागि २ करोड बजेट विनियोजन गरेको पनि बताए ।
उनले प्रसूति र बाल सेवालाई प्रभावकारी रुपमा दिन सकेमा यो अस्पताल स्थापित हुँदै जाने र निकट भविष्यमा मुटु रोग उपचार सेवा, क्यान्सर उपचार सेवा जस्ता सेवाहरू विस्तार गर्नको लागि प्रदेश सरकारको योजना रहेको पनि बताए । यस्तै कार्यक्रममा बोल्दै अस्पतालमा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले यो सेवाबाट नागरिकहरूलाई थप राहत मिल्ने बताए । उनले ओपिडी सेवाको टिकट यस अघि २० रुपैयाँ र इमरजेन्सीमा ५० रुपैयाँ लाग्ने गरेको भएयता पनि अब देखि निःशुल्क प्रदान गर्दा अझ नागरिकहरूलाई राहत मिल्ने बताए ।
यस्तै उनले जनरल बेडको चार्ज पनि एक सय रुपैयाँ रहेकोमा त्यो पनि निःशुल्क प्रदान गर्ने बताए । यस्तै अहिले पनि अस्पतालले एकदमै विपन्न नागरिकहरूलाई सामाजिक सेवा इकाइबाट निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पनि उनको भनाइ थियो । उनले सामाजिक सेवा इकाइमा बजेट कम भएको भन्दै बजेट थप गरिदिन मन्त्री चौधरीलाई आग्रह गरे ।
रिफर सेन्टर नबनाऔँ : उपमेयर चौधरी
तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले अस्पतालाई रिफर सेन्टर नबनाउन आग्रह गरिन् । कार्यक्रममा बोल्दै उनले अहिले सानो समस्या भएपनि यहाँ उपचार नगरेर बाहिर रिफर गर्दा अस्पताल रिफर सेन्टर बनेको भन्दै राम्रो सेवा दिन उनले आग्रह गरिन् ।
उनले अस्पताललाई उपमहानगरबाट सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्,‘ हामीले शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिएका छौँ । कुनै पनि बिरामीहरु उपचार गर्न आउँदा बाहिर जानु पर्ने बाध्यता अन्त्य होस् । त्यसका लागि प्रदेश सरकारले पनि ध्यान दिनु पर्छ ।’
यस्तै उनले अस्पतालमा आएका बिरामीहरुलाई आफूले काम गर्ने निजी अस्पतालमा विरामीहरु रिफर गर्ने काम बन्द गर्न पनि आग्रह गरिन् । उनले सानो समस्या लिएर आएका बिरामीहरुलाई रिफर गर्दै आएको भन्दै त्यो तत्काल रोक्न आग्रह गरिन् । उनले भनिन्,‘ यस अस्पतालमा बिरामीहरू उपचार गर्न आएपछि सेवा दिने तपाईँहरुको धर्म हो । तपाईहरुले यस अस्पतालको नुन पानी खानु भएको छ । यहाँ उपचार गर्न आएकालाई यहि उपचार गरिदिनुहोस् । आफूले काम गर्ने निजी अस्पतालमा रिफर गर्न बन्द गर्नुहोस् ।’
निःशुल्क सेवा पाउँदा बिरामी खुशी
प्रदेश सरकारले अस्पतालमा टिकट, बेड र रगतमा निःशुल्क सेवा गरेपनि सेवा लिन अस्पताल आएका विरामीहरु पनि खुशी भएका छन् । तुलसीपुर उपमहानगरपालिका १६ की चुमा कुमारी बुढाथोकीले अस्पतालबाट टिकट निःशुल्क पाउँदा खुशी लागेको बताइन् ।
उनले आफूहरु जस्ता निम्न आर्थिक भएका बिरामीहरुलाई राज्यले अरु सेवामा छुट दिनु पर्ने बताइन् । त्यस्तै दंशगीरण गाउँपालिका ५ का राज कुमार थापाले अस्पतालबाट आजदेखि शुरु भएको निःशुल्क सेवा राम्रो भएको बताए । उनले टिकट मात्र निःशुल्क दिएर सेवा राम्रो नहुने बताए ।
उनले अहिले पनि अस्पतालमा बिरामीहरुले सेवा लिनको लागि धेरै समस्याहरु भोग्नु परेको गुनासो गरे । एउटै ठाउँमा धेरै जना डाक्टरहरुको बिरामी जाँच्ने ठाउँ हुँदा बिरामीहरू कुन डाक्टरमा जाने भन्ने कुरामा अलमल हुने र विभिन्न खाले रोगको संक्रमण बढ्न सक्ने अवस्था रहेको बताए ।
उनले भने,‘ एक ठाउँमा ४ वटा कोठाहरु रहेका छन् । जहाँ विभिन्न डाक्टरहरुले बिरामीहरू चेकजाँच गर्ने गर्दछन् । तर, ति कोठाहरुमा जानको लागि बिरामीहरू एकै ठाउँमा बस्नु पर्ने बाध्यता रहेको छ । कुन बिरामी कुन डाक्टरमा जानु पर्ने हो, अलमल हुन्छ । फरक फरक रोगका बिरामीहरू एउटै ठाउँमा बस्दा अन्य रोगको संक्रमण बढ्ने डर छ । यतातिर पनि अस्पतालले ध्यान दिनु पर्छ ।’
