तुलसीपुर होटेल व्यवसायी समितिको अध्यक्षमा बस्नेत चयन

दाङ । तुलसीपुर होटेल व्यवसायी समितिको अध्यक्ष इन्द्र बहादुर बस्नेत सर्व सहमतिमा चयन भएका छन् । शनिबार तुलसीपुरमा भएको समितिको ८ औँ साधारण सभा तथा पाँचौ अधिवेशनबाट सर्व सहमतिमा उनी अध्यक्षमा चयन भएका हुन् । जसको उपाध्यक्षमा दोर्ण आचार्य, सचिवमा तुफान केसी, सह सचिव सञ्जय न्यौपाने, कोषाध्यक्ष दिल बहादुर भण्डारी चयन भएका हुन ।
यस्तै सदस्यहरूमा अम्मर खनाल, ललित पोख्रेल, भुपेन्द्र डाँगी, प्रवेश वली, विष्णु माया पोख्रेल, कमला सार्नु, रुबी महरा र सुशील वली चयनभएका हुन । अध्यक्षका निर्वतमान अध्यक्ष टेकराम खड्काको अध्यक्षता एवं तुलसीपुर उपमहानगरका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै मेयर खड्काले होटल व्यवसाय नै आर्थिक समृद्धिको आधार भएको बताए । उनले तुलसीपुरको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास गरी होटेल व्यवसायको प्रवर्द्धन गर्न सकिने समेत बताए । उनले होटल व्यवसायलाई मर्यादित बनाउनुपर्ने भन्दै होटल व्यवसायको प्रवर्द्धनका लागि स्थानीय सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको पनि बताए ।
त्यस अवसरमा व्यवसायीहरूले व्यवसाय सञ्चालनमा सरकारले साथ नदिएको गुनासो गरेका छन् । उनीहरूले व्यवसायीको हकहितमा सम्बन्धित निकायले आवाज उठाउन छोडेको गुनासो गरेका हुन् । व्यवसायी नै नेता बन्ने प्रवृत्ति बढेको भन्दै व्यवसायलाई मर्यादित बनाउनु पर्नेमा उनीहरूले जोड दिएका हुन् ।
समितिका सचिव इन्द्र बहादुर बस्नेतले संस्थाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चूर्ण बहादुर वलीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । समितिका उपाध्यक्ष देव बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेम प्रकाश मल्लले गरेको छ ।