केही घर तथा पसल डुवानमा, वडा कार्यालय डुवानको जोखिममा

दाङ । दाङको राप्ती गाउँपालिकामा केही वडा डुवानमा परेका छन् । शुक्रबार रातीदेखि परेको अबिरल वर्षाले वडा नम्बर ६ पत्थर गढवाको चौबाटो निवासी भोसु चौधरी, बहादुर चौधरी र गोबिन्द चौधरीको कच्ची घर डुबान र केही पसलहरु समेत डुबानमा परेको छन् । घरभित्र र पसलमा बाढी पस्दा अन्नपात, लत्ताकपडा भिज्दा लाखौँको क्षति भएको छ ।

यता राप्ती गाउँपालिका ६, नम्बर वडा कार्यालय समेत डुबानको उच्च जोखिममा परेको छ । छेगवान (प्रगन्न कुलोको) ड्याम फुटेर र राप्ती नदीको सहायक नदीमा आएको बाढीले वडा कार्यालय बरिपरी बाढी आएको हो ।

हचुवाको भरमा नदीको छेउमा वडा कार्यालय बनाउँदा वडा कार्यालय बाढीको उच्च जोखिममा परेको ६ नम्बर वडा अध्यक्ष दिपककुमार चौधरीले जानकारी दिए । यस बिषयमा आफूले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिकामा जानकारी गराएको पनि कुनै पहल नभएको वडा अध्यक्ष चौधरीले बताए । बर्षातको समयमा वडा कार्यालय अगाडी बाढी आउँदा नजिकैको मन्दिरमा बसेर नागरिकलाई सेवा दिनुपर्ने बाध्यता समेत रहेको उनले बताए ।

यता देउखुरीको राप्ती गाउँपालिका ७, छोट्की सिसहनियाँ मिलनचोकस्थित आयुष किराना तथा मदिरा पसलमा बाढी पस्दा दुई लाख पचास हजार बढीको क्षति भएको छ । शुक्रबार रातीदेखि परेको अबिरल बर्षा पछि शनिबार बिहान ४ बजे आएको बाढीले छोट्की सिसहनियाँ निवासी नबिन चौधरीको पसलमा बाढी पसेको हो ।

राप्ती चक्रपथ अन्तर्गत बनेको छिङ्टलवा कुलोमा बनेको कल्र्भड साघुरो भई पानी काट्न नसक्दा ओभर भई पसलमा बाढी पसेको पिडित नबिनले बताए । पसलमा बाढी पस्दा डिफ्रिज, डोर फ्रिज, चिनी, जिरा, दाल, चना, साबुन, पिठो, आलु, प्याजलगायतका खाद्यान्न समानहरू बिजेर पूर्णरूपले नष्ट भएको पसलका नबिन चौधरीले जानकारी दिए ।

त्यस्तै शुक्रबार रातीदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले भर्खर लगाएको धानीबाली, मकै र तरकारीबाली समेत डुवानमा परेको छ । भने केही ठाउँमा सिचाईका लागि बनाएको संरचनामा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । दोलाई खोला र राप्ती नदीमा तटबन्धको काम भएपनि बाढीका कारण डुवान भने रोकिन सकेको छैन ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस