नागरिकको जनजीवनका बारेमा गम्भीर बन्नु पर्नेमा जोड

घोराही । खाद्य अधिकार नागरिकको बाँच्न पाउने नैसर्गिक हक अन्तर्गत रहेपनि यसलाई राज्यले गम्भीर रुपमा नलिँदा नागरिकलाई विभिन्न खालका समस्या भोग्नु पर्ने अवस्था आएको घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । खाद्य अधिकार संजाल दाङ र फियान नेपालको आयोजनामा खाद्य अधिकारको सवाल विषयक अन्तरक्रियामा नागरिको जनजीवनका बारेमा गम्भीर बन्नु पर्नेमा जोड दिएका हुन् । खाद्य अधिकार संजालकी अध्यक्ष एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको अध्यक्षता तथा नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा पालिकाले हस्तक्षेप गर्न नसके पनि जनताको बाँच्न पाउने अधिकार सुरक्षित गर्न पालिकालाई धेरै अधिकार छ ।
बढ्दो शहरीकरणसँगै थपिँदै गएका उद्योग, कलकारखाना, वन वातावरण विनाशको असर मानव स्वास्थ्यमा पर्न थालेकाले यस तर्फ सबै पक्ष बेलैमा गम्भीर बन्नु पर्ने आवश्यकता औँल्याए । अहिले घोराहीमा सिमेन्ट उद्योगका कारण स्थानीय नागरिक प्रत्यक्ष प्रभावित भएको, जमीन खण्डीकरण हुँदै जाँदा खेतीयोग्य जमीन ह्रास भएको, उपभोग्य बस्तुको स्वास्थ्य परिक्षण जस्ता कुरामा ध्यान नदिँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालका बस्तु नागरिकले प्रयोग गर्न बाध्य भएकाले संविधानले नै प्रत्याभूत गरेका नैसर्गिक अधिकार सुनिश्चित गर्न स्थानीय सरकार खरो रुपमा उत्रिनुको विकल्प नरहेको वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा मानव अधिकार सञ्जालका अध्यक्ष केशवकुमार शर्मा, घोराही ४ का सिमेन्ट उद्योग प्रभावित भरत देवकोटा, कुसुँडा समुदायका धनबहादुर कुसुन्डालगायतले आफुहरुले भोग्दै आएका समस्या र समाधानका लागि चाल्नु पर्ने कदमका बारेमा बोलेका थिए । फियानका संयोजक सुरेश गौतमले खाद्य अधिकारसहित आर्थिक, सामाजिक क्षेत्रमा संस्थाले वकालत गर्दै आएको जानकारी गराउँदै नागरिकको बाँच्न पाउने अधिकार स्थापित गराउन सबै सरोकार पक्षले पैरवी गरेमा स्वस्थ वातावरणमा मानिस बाँच्न सक्ने बताए ।
उनले जिल्लामा नदीजन्य बस्तुको अनाधिकृत दोहन, सिमेन्ट कारखानाले गरिरहेको असर रोक्ने प्रयास, वातावरणीय सन्तुलन कायम गर्न स्थानीय सरकारसँग सहकार्य भईरहेको बताउँदै कामको जिम्मेवारी लिएकाहरु गम्भीर बन्नु पर्ने बेला आएको बताए । कार्यक्रममा नगरप्रमुख चौधरीले जनतालाई अनुभूति हुने काम हुनुपर्छ भन्ने मान्यतामा घोराही उपमहानगर रहेको बताउँदै समृद्ध समाज बनाउन हरेक क्षेत्रमा सन्तुलन कायम गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रमको सहजीकरण सन्जालका महासचिव मौसम आचार्यले गरेका थिए ।