उपमहानगरपालिकाले ठेक्का लगाएको विभिन्न ९ वटा आयोजनाको काम अलपत्र

दाङ । घोराही उपमहानगरपालिकाले ठेक्का लगाएको विभिन्न ९ वटा आयोजनाको काम अलपत्र भएको छ । घोराहीले बजार क्षेत्रमा निर्माणाधीन रहेका नाला, सडकदेखि ग्रामीण क्षेत्रका सडकको काम सम्पन्न गर्न साढे २१ करोडको ठेक्का दिएको छ । ठेक्काको जिम्मेवारी पाएका निर्माण कम्पनीले लामो समयसम्म काम नगर्दा पटक÷पटक ताकेता गरेको भएपनि हालसम्म केही स्थानमा सामान्य काम गरेजस्तो गरेपनि अधिकांश स्थानमा काम नै नगरी ठेकेदार सम्पर्क बिहीन रहेको घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर युवराज पौडेलले बताए । उनका अनुसार ९ वटा ठेक्का लगाएका सबै ठाउँको काम यही असार मसान्तसम्म सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ ।

तर, कामको गति हेर्दा कुनै पनि हालतमा अबको केही दिनमा काम सकिने अवस्था छैन । समयमा काम सम्पन्न बारम्बार ताकेता गरेपनि कानमा तेल हालेर बसेका ठेकेदारका कारण नगर क्षेत्रमा नाला र सडकको अवस्था अत्यन्तै जीर्ण बनेको छ । पालिकाले अब काम नगर्ने ठेकेदार कम्पनीलाई कानूनी कारवाही गर्ने जनाएको छ । ठेक्का सम्झौताका शर्त तथा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ संशोधनसहित कानूनी कारवाही हुने घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले साझा टाइम्सलाई बताए ।

जिल्ला प्रशासन कार्यालयदेखि शहिद गेट हुँदै नेपाल बैंकसम्म नालासहित सडक, सौरी थारु गाउँ बाटो पिच निरन्तरता तथा वडा नम्बर १० को पुरानो वडा कार्यालय हुँदै नारायणपुर थारु गाउँ हुँदै बनगाउँ जोड्ने बाटो निरन्तरता, मानबहादुर मिलदेखि शंकर गौतमको घरसम्मको अधुरो सडक पिच र दक्षिण पानी टंकी चौकसम्म सडक पिच निरन्तरताका लागि यही असार मसान्तमा काम सम्पन्न गर्ने सम्झौता गरेको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले काम गरेको छैन ।

यस्तै, घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्न पुष्पाञ्जलि÷पिएस जेभीलाई, खिरटियादेखि ६ नम्बर वडा कार्यालयसम्म सडक पिच गर्न बराहक्षेत्र हरितारा कन्स्ट्रक्सन जेभीलाई यही असार मसान्तसम्म काम गर्ने गरी जिम्मा दिइएको छ । घोराही १७ लख्वारे कुलोदेखि धर्नासम्म सडक बिस्तार तथा थारु कल्याणकारिणी भवनदेखि गैरागाउँ चोकसम्म पिच गर्न श्री सोहन आभा जेभीसँग २०७८ माघ ७ गते ७८ लाख ७४ हजार ७ सय ८८ रुपैयाँमा यही असारमसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ ।

कनरियादेखि दलजीतपुरसम्म, भैसाही चोकदेखि गैरागाउँ हुँदै सर्रा जोड्ने सडक र कटुवा खोला शंखेपीपलदेखि वडा नम्बर १८ को वडा कार्यालय हुँदै अम्बिकेश्वरी मन्दिर जाने सडक पिच निर्माण आयोजनाका लागि आरडी÷हाम्रो जेभीलाई सम्झौता गरी जिम्मेवारी दिएपनि अहिलेसम्म काम सकिएको छैन । जसका कारण नागरिकले लामो समयदेखि सास्ती भोग्न बाध्य भएका छन् ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस