राप्ती आँखा अस्पतालको ओपीडी सेवा नयाँ भवनबाट

तुलसीपुर । दाङको तुलसीपुर स्थित राप्ती आँखा अस्पतालले नयाँ भवनबाट ओपीडी सेवा सुरु गरेको छ । बुधबार लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले उक्त भवनको उद्घाटन गरेका हुन् । त्यस अवसरमा मन्त्री चौधरीले आँखा नै महत्वपूर्ण अंग भएको भन्दै त्यसलाई ब्यबस्थित गर्ने प्रतिबद्धता जनाए । उनले अस्पतालमा आबश्यक भवन निर्माणमा प्रदेश सरकारबाट पहल गर्ने बताए ।

अहिले अस्पतालमा तीन वटा विशेषज्ञ सेवा सञ्चालनमा छन् । अबको केही समयपछि थप एउटा बिशेषज्ञ सेवा थप गर्ने तयारी रहेको छ । यस अघि पुरानो भवनबाट ओपीडी सेवा सुरु हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको थियो ।तर, अब नयाँ भवन निर्माण भएपछि सहज भएको छ । २०७४ साल भदौदेखि भवन निर्माण कार्य सुरु भएको हो ।

बिभिन्न तहका सरकार तथा दातृ निकायहरुको ४ करोड ९४ लाख लागतमा उक्त भवन निर्माण भएको हो । सुरुवातमा ११ लाखको लागतमा उक्त भवन निर्माण कार्यको सुरुवात गरिएको हो । पछि सरकार तथा बिभिन्न दातृ निकायको सहयोगमा निर्माण कार्यले पूर्णता पाएको हो । साथै उक्त अस्पताललाई टर्सरी स्तरमा सञ्चालन हुने र एकाडेमिक रुपमा पनि अघि बढ्ने लक्ष्य लिइएको छ ।

त्यसैगरी अस्पतालबाट हालसम्म झण्डै ३२ लाखले सेवा लिएका छन् । बहिरंग सेवाबाट मात्रै ३१ लाख ७३ हजार ८ सय ५६ जनाले उपचार सेवा लिएको आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत राप्ती तथा बहादुरगञ्ज आँखा अस्पतालका प्रशासक सम्शेर थापाले जानकारी दिए । त्यस्तै एक लाख ९९ हजार २ सय १६ जनाले आँखाको शल्यक्रिया गरेर नयाँ ज्योति पाएका छन् । २०४२ सालदेखि सञ्चालनमा आएको अस्पतालले अहिले सम्म यति धेरै विरामीलाई सेवा दिन सफल भएको उनले बताए ।

अस्पतालको ओपीडी भवन उदघाटन कार्यक्रममा प्रदेशसभा सदस्य शंकर गिरी, पूर्वसासद वुद्धिराम भण्डारी, युएनडीपीका कार्यक्रम व्यवस्थापक सुरेखा गुरुङ, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष चेतराज पन्त, कोषाध्यक्ष दोर्ण गुरागाँई, भवन निर्माण समितिका अध्यक्ष सुरेन्द्र बहादुर खड्का, अस्पतालका डा.सुलक्ष्मी कटुवाल, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपाने, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारी, तुलसीपुर उपमहानगरपालिका ४ का अध्यक्ष तुलसी थापा, नेत्रज्योति संघ दाङका कोषाध्यक्ष लिला शाह, उपसचिव रेशमबहादुर खड्का, नेपाली काँग्रेस दाङका सचिव बालिका लम्साल, गढवा गाउँपालिका उपाध्यक्ष सारदा चौधरी, दानदाता नारायण प्रसाद अचार्यलगायतले मन्तब्य ब्यक्त गरेका थिए । नेत्रज्योति संघ दाङका सभापति कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस