दाङमा सवा १२ अर्बको २५२ वटा खानेपानीका आयोजना संचालनमा
दाङ । दाङमा २५२ वटा खानेपानी आयोजनाका लागि सवा १२ अर्ब बढी लगानी भएको छ । प्रदेश सरकार अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार जिल्ला चालुआर्थिक वर्षका लागि १० वटै पालिकामा विभिन्न शीर्षकमा गरी २ सय ५२ वटा खानेपानी आयोजनाका लागि १२ अर्ब २२ करोड ३५ लाख ७२ हजार रुपैयाँ लगानी भएको छ ।
कार्यालयका निमित्त डिभिजन प्रमुख भोलाबहादुर थापाले साझा टाइम्सलाई दिएका जानकारी अनुसार जिल्लामा सघन खानेपानी विकास कार्यक्रम, जलवायू अनुकुलित वृहत खानेपानी आयोजना अन्तर्गत संघ ससर्त अनुदान, तराई मधेश खानेपानी सुधार कार्यक्रम, खानेपानी तथा सरसफाई सहलगानी कार्यक्रम तथा विभिन्न उपशीर्षकमा गरी लगानी भएको छ ।
ती आयोजनामध्ये केही ठाउँमा कार्यान्वयनमा आईसकेको छ भने धेरै जसो स्थानमा आयोजनाको काम जारी छ । उनका अनुसार जिल्लाको ग्रामीण पालिकाहरुमा अहिले खानेपानी आयोजनाको काम पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।
जिल्लामा सघन खानेपानी आयोजनाका १ सय ७२ वटा आयोजना, जलवायू अनुकुलित वृहत खानेपानी कार्यक्रमको १९ वटा, तराई मधेश खानेपानी सुधार कार्यक्रमको ५० वटा, सहलगानी कार्यक्रमको १ वटा र १० वटा थप गरिएका खानेपानी आयोजना रहेको निमित्त प्रमुख थापाले बताए ।



