प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि २०८७/८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो ।
रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नेपालमा ७५३ स्थानीय तहका छ हजार ७४३ वडा छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज दशवर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो।
रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ । स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पुर्याउनुपर्नेमा जोड दिए ।
सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भएअनुसारको स्वास्थ्य सेवा पुर्याउन राज्यले नसकेको समेत बताए ।