घोराही बंगलाचुली रुटका खाल्डा पुरेर टिपर चलाउन दिने सहमति

दाङ । यसअघि गरिएको सहमति कार्यान्वयन नगरी चुनढुंगा ढुवानी गर्न जबरजस्ती टिपर चलाउन खोजेको भन्दै आन्दोलन गर्दै आएका प्रभावित क्षेत्रका नागरिकले टिपर चल्न दिने भएका छन् ।

पटक–पटकको आन्दोलनपछि टिपर सञ्चालन बन्द भएपनि सोनापुर सिमेन्टले बंगलाचुली १ मा नयाँ खानीमा जबर्जस्ती टिपर चलाउन खोजेको भन्दै स्थानीयबासीले सोमबार बिहानैदेखि टिपर चलाउन रोक लगाउँदै सकडमै उत्रिएपछि मंगलबार जिल्ला प्रशासनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सहमति गर्दै चुनढुंगा बोक्ने टिपर (आज) बुधबारबाट चलाउन दिने निणर्य गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले जुम्लेपानीसम्मको सडकलाई घोराही सिमेन्ट उद्योग प्रालि, सोनापुर सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने टिपर चलाउन दिने निणर्य भएको हो ।

उक्त सडकमा खाल्डाखुल्डी भएको ठाउँमा ग्राभेल गरी रोलिङ गर्ने, सडकको साइडमा सानो बकेटले नाला निर्माण गर्ने, धुलोबाट बचाउनका लागि नियमित रुपमा पानी चार्ने व्यवस्था मिलाउने, गति नियन्त्रणको लागि ट्राफिक संकेत वोर्ड राख्ने व्यवस्था गर्नेलगायत निणर्य गर्दै टिपर चल्न दिने बताइएको छ ।

यसैबिच बंगलाचुली गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकका बारेमा आफुलाई कुनै जानकारी नभएको बताएको छ । गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले साझा टाइम्ससँग कुरा गर्दै यसअघि गरिएका सहमती कार्यान्वयन नहँुदासम्म टिपर चल्न नदिन बताए ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस