विपदबाट बच्न सर्तकता अपनाऔं : प्रजिअ रेग्मी

दाङ । दाङ जिल्लाका प्रमुख हिरालाल रेग्मीले मनसुनी वर्षाका कारण हुन सक्ने विपदबाट सर्तकता अपनाउन जिल्लावासीलाई आग्रह गरेका छन् । मनसुनी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा डुवान, बाढी, पहिरो लगायतका घटनाहरु घट्न सक्ने सम्भावनालाई मध्यनजर गरेर प्रजिअ रेग्मीले यस्तो आग्रह गरेका हुन् ।

गत जेठ २० गते दश वटै पालिकाका प्रमुखहरुको उपस्थितीमा जिल्ला विपद व्यवस्थापन समितीको बैठक बसी स्थानीय विपद व्यवस्थापनको बैठक बस्ने र मनसुनी वर्षाका कारण हुन सक्ने डुबान, बाढी, पहिरो, कटान लगायतका विपद आउन नदिन आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने, आवश्यक बजेट विनियोजन गर्ने, नदी, खोला किनारमा बसोबास गर्नेलाई समयमा सर्तकता अपनाउन सर्तक बनाउने, स्थानीय तहमा उपलब्ध साधन स्रोतहरु (जेसिबी, डोजर)लाई तयारी अवस्थामा राख्ने र नदी, खोला, नालामा फसेकालाई उद्दार गर्नका लागि ढुंगा, डोरी लगायतका सामाग्रीहरु किनेर तयारी अवस्थामा राख्न निर्देशन दिएको प्रजिअ रेग्मीको भनाइ छ ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनालाई ‘फलो’ गरी सोही अनुरुपको सर्तकता अपनाउनुका साथै विपद व्यवस्थापन शाखाहरुले समयमा जनताहरुलाई मौसम सम्बन्धी जानकारी गराउन निर्देशन दिएको प्रजिअ रेग्मीले बताए । मनसुनी वर्षाबाट निम्तीने विपदबाट उद्दार गर्नका लागि सुरक्षा निकाय पनि तयारी अवस्थामा रहेको बताए ।

‘सुरक्षा निकायले यसअघिनै बाढी, पहिरो, डुबानबाट कसरी बचाउन सकिन्छ भनेर स्थानीय पालिकाको सहयोगमा ‘डेमो’ प्रस्तुत गरेको छ । मनसुनी वर्षाबाट हुन सक्ने विपदबाट जोगाउनका लागि सशस्त्र प्रहरी र नेपाली सेना तयारी अवस्थामा छन्’- प्रजिअ रेग्मीले भने । विशेषगरी जिल्लाका राप्ती नदी आसपासका र बबई नदी किनारमा बसोबास गर्ने स्थानीयहरु बाढी र डुबानको जोखिममा रहेका छन् भने बंगलाचुली क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु भने पहिरोको उच्च जोखिममा रहेको प्रजिअ रेग्मीले बताए ।

यसैबिच, सोमबार मात्रै मनसुनी वर्षाका कारण हुन सक्ने क्षति र उद्दारका लागि तयारी अवस्थामा रहनका लागि सुरक्षा निकायलाई निर्देशन दिएको प्रजिअ रेग्मीले बताए ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस