सिकलसेलका गर्भवतीमा मृत्युको जोखिम उच्च

दाङ । सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्यु हुने जोखिम उच्च देखिएको छ । सिकलसेल एनिमिया भएका गर्भवतीमा गरिएको अध्ययनले उनीहरुको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो ।
भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा. राजन पाण्डेले अन्य गर्भवतीको भन्दा सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्युदर २२ प्रतिशत भन्दा बढी रहेको जानकारी दिए । उनले प्रायजसो पश्चिम नेपालका थारु समुदायमा देखिएको सिकलसेलले थारु समुदायलाई आक्रान्त पारेको बताए ।
उनले देशभरका चार हजार थारुलाई सिकलसेल एनिमियाको समस्या देखिएको जानकारी दिँदै उपचार तथा परामर्शका लागि भेरी अस्पताल आउने थारु समुदायको संख्या धेरै भएको बताए ।
भेरी अस्पतालमा मात्र ८९४ बिरामी नियमितरूपमा जाँच तथा परामर्शका लागि आउने गरेको बताइएको छ । पछिल्लो समय थारु समुदायमा थाल्सेमियाको समस्या पनि देखिएको छ ।