रासायनिक मल समयमै उपलब्ध गराउन ध्यानाकर्षण
दाङ । नेपाली काँग्रेस तुलसीपुर नगर कमिटीले तुलसीपुर उपमहानगरपालिकालाई रासायनिक मल समयमा उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ । आज सोमबार तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कालाई समयमा मल उपलब्ध गराउन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको तुलसीपुर नगरका सभापति सुरेश हमालले जानकारी दिएका छन ।
उनले यति बेला किसानले मानो रोपेर मुरी फलाउने समयमा रासायनिक मल सहज रूपले नपाउनु दुःखद भएको बताएका छन । किसानलाई धान बाली र मकैका लागि अवश्य पर्ने रासायनिक मलको सहज आपूर्ति र भण्डारण गरिदिन विशेष पहल गरिदिन ध्यानाकर्षण गराएको बताएका छन ।
यस्तै रासायनिक मलको आपुर्ति सहज बनाउनु पर्ने मागसहित राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ दाङले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । किसानहरूले खेती गर्ने समयमा मलको अभाव हुँदा पनि सरकार गम्भिर नभएको हुँदा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।
महासंघ जिल्ला अध्यक्ष ऋषिराम पौडेलले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाए । प्रमुख जिल्ला अधिकारी रेग्मीले ज्ञापनपत्र बुझ्दै यसलाई गृहमन्त्रालयमा पठाउने र आवश्यक व्यवस्थाको लागि पहल गर्ने बताए । ज्ञापन पत्रमा मलको तत्काल व्यवस्था गर्नुपर्ने , मलको दीर्घकालिक समस्या समाधान गर्न मल उद्योगको स्थापना गर्नुपर्ने , रासायनिक मलमा अनुदान थप्नु पर्ने , रासायनिक मलको ठाउँमा कम्पोस्ट मल प्रयोग गर्न उत्प्रेरणा दिनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै सहरको फोहोरबाट कम्पोस्ट मल बनाउनुपर्ने , किसानको उत्पादित वस्तुको बजार व्यवस्थापन गर्नुपर्ने, कृषि उत्पादन हुने टाउनप्लानिङ र खण्डिकरण हुनबाट रोक्नुपर्ने , कृषि कर्जा सहज रुपमा पाउने वातावरण निर्माण गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यस्तै ज्ञापन पत्रमा भूउपयोग नीति लागू गर्नुपर्ने , किसान पेन्सनको ब्यवस्था गर्नुपर्ने , कृषि बिमा नि : शुल्क गर्नुपर्ने , हरेक स्थानीय तहमा कोल्ड स्टोरको व्यवस्था हुनुपर्ने , बिउ बिजन स्वदेशमै उत्पादन गर्नुपर्ने , सिँचाइका लागेको विद्युत महसुलमा छुट गर्नुपर्ने लगायतका माग राखिएको छ ।
अखिल नेपाल किसान महासङ्घका केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य , जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी, अखिल नेपाल किसान महासङ्घका जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल, जिल्ला सदस्य मनिराम खनाल, खडानन्द खनाल, हरि खरेल, सुरेश कुमार पाण्डे, दिनेश रैदास लगायतकाको उपस्थिति ज्ञापनपत्र बुझाइएको हो ।