सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान । सल्यानको बन्गाडकुपिण्डे नगरपालिका-४ देउलीमा गएराति भे १ ज १०२१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय रमेश बुढाको माइती मानेर देउलीबाट डोप्के घर फर्कने क्रममा अनियन्त्रित भएर जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा देउलीका ३२ वर्षीय मोतिलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमीत खड्काका अनुसार ५७ वर्षीय मने बुढा, ६९ वर्षीय सहदेव बुढा, ५० वर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढाथोकी घाइते भएका छन् । उनीहरुको सल्लीबजारस्थित अस्पतालमा उपचार भइरहेको छ ।
बुढाको घटनास्थलमै मृत्यु भएको र उनको शव पोस्टमार्टमका लागि सुर्खेतको मेहलकुना अस्पतालमा लगिएको खड्काले जानकारी दिए । २८ वर्षीय जिप चालक उदय बुढा भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए । जिप दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।