राप्ती प्रादेशिकमा सेवा सुधारको मागसहित प्रमुखलाई जसपाको ज्ञापनपत्र

दाङ । जनता समाजवादी पाटी तुलसीपुर नगरसमितिले राप्ती प्रादेशिक अस्पतालमा सेवा सुधारको माग गरेको छ । अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढ्दै गएको अवस्थामा सेवाको स्तर झन् पछि झन् फितलो बन्दै गएको भन्दै जसपा तुलसीपुरले सेवा सुधारको माग गरेको हो । जसपा तुलसीपुर नगर अध्यक्ष टोपबहादुर महतारा र सचिव मोहनसिंह वली, अस्पतालका निमित्त प्रमुख ओम अर्याललाई नौ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा अस्पतालको एक्सरे सेवा, ल्याब सेवालाई नियमित बनाउनुपर्ने, निशुल्क पाउने औषधिको अभाव हुन नहुने, अस्पतालबाट प्रदान गरिने सेवाहरू आम नागरिकले बुझ्नेगरि सूचना पाटीमा राखिनुपर्ने उल्लेख छ । यस्तै अस्पतालमा बिरामी र बिरामीका आफन्तलाई स्वच्छ खानेपानीको व्यवस्था गरिनुपर्ने, सामान्य प्रकृतिका बिरामीलाई पनि रिफर गर्ने परम्पराको अन्त्य गरिनुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।
यस्तै अशक्त र ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा सेवा दिनुपर्ने, डाक्टर तथा अन्य कर्मचारीले आफ्नो ड्युटी समयमा बाहिर काम गर्न नहुने र अस्पतालले फोहोर व्यवस्थापन उचित ढङ्गले गर्नुपर्ने जसपाले ज्ञापनपत्रमार्फत भनेको छ । त्यस अवसरमा जिल्ला सदस्य शंकरमान विष्ट र गीता विष्टको पनि सहभागिता रहेको थियो ।