साइकलका लागि छुट्टै लेन

दाङ । दाङको तुलसीपुरमा पहिलो पटक साइकल यात्रुका लागि साइकल लेन निर्माण गरिएको छ । काठमाडौं, ललितपुर, पोखरापछि दाङको तुलसीपुरमा छुट्टै साइकल लेन निर्माण गरिएको हो ।
युएनडिपीको आर्थिक सहयोगमा नेपाल साइकल सिटी नेटवर्कले पोखराबाट आएर तुलसीपुरमा छुट्टै साइकल लेन बनाइदिएको हो । राप्ती राजमार्गबाहेक तुलसीपुरको मुख्य बजारका विभिन्न सडकमा साइकल लेन निर्माण गरिएको छ ।
तुलसीपुरको घोराही चोकदेखि त्रिशिद्देश्वरी मन्दिर हुँदै मदन आश्रित चोकसम्म, गुप्त मेडिकलदेखि १९ नम्बर बाहिनी चोकसम्म, तुलसीपुरका ‘ख’ र ‘ग’ लाइन जोड्ने भित्री सडकलाई साइकल अंकित चिन्ह राखेर छुट्याइएको छ ।
दाङ साइकल सिटीका उपाध्यक्ष तथा तुलसीपुर साइकल सिटीका अध्यक्ष खुमबहादुर न्यौंपानेले लामो समयदेखिको आफू जस्ता साइकलप्रेमीको प्रयासले सानो आकारमा भए पनि सार्थकता पाएको भन्दै खुसी ब्यक्त गरे ।
तुलसीपुरका यसअघिका मेयर घनश्याम पाण्डेकै समयमा तुलसीपुर बजार क्षेत्रमा पाँच किलोमिटर सडक साइकलका लागि छुट्टाइएर साइकल लेन निर्माण गर्ने सहमति भएको थियो ।