कृतिम तालमा डुबेर मृत्यु भएका थापाका परिवारले उचित राहतको माग गर्दै ४ दिनसम्म शव बुझेनन्
दाङ । यही जेठ २७ गते शान्तिनगर ३ मा रहेको कृत्रिम तालमा डुबेर एक युवकको मृत्यु भएको थियो । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका ३ माइलीपानी बस्ने करिब १७ वर्षीय वीर बहादुर थापा हुन् । उनको मृत्यु भएको ४ दिनसम्म पनि उनका परिवारले उचित क्षतिपुर्तिको माग गर्दै शव बुझेका छैन् । अहिले उनको शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमै रहेको छ । शुक्रबार दिउँसो करिब पौने १ बजेतिर ३ जना साथीहरूसँग तालमा पौडी खेल्न गएका थापाको डुबेर मृत्यु भएको हो । उनको शव तालबाट प्रहरीले सोही दिन बेलुका सवा करिब ६ बजेतिर निकालेको थियो ।
मृतकका अंकल गोविन्द थापाले राज्यले आफूहरूलाई राहत दिनु पर्ने बताए । उनले मृतकका बुवा आमा नभएको र उनी हजुर बुवा आमासँग बस्दै आएको हुँदा कानुन अनुसारको राहत दिनु पर्ने बताए । उनले भने,‘ ताल खुला भएका कारण लापरबाहीका कारणले हाम्रो मान्छेको मृत्यु भएको हो । हामीहरूले न्यायको लागि वडाध्यक्ष, प्रहरी चौकीमा निवेदन दिएका छौँ । तर, आज ४ दिन भयो । हाम्रो सुनवाई भएको छैन् । हामीले उचित राहत नपाएसम्म शव बुझ्दैनौँ ।’ उनले आफूहरू कहिँले प्रहरी चौकी, कहिले इप्रका धाएको भन्दै आफ्नो मान्छेको शवगृहमै सडिरहेको हुँदा छिट्टो भन्दा छिट्टो न्याय दिनु पर्ने माग गरे ।
उनले भने,‘ जनप्रतिनिधिलाई भन्दा स्थानीय सरकारबाट केही दिन नसक्ने र व्यक्तिगत रुपमा दिने भन्नुहुन्छ । ताल निर्माण गर्न जिम्मा लिएका ब्यक्तिहरू छलफलमा आउनु हुन्न ।’ त्यस्तै उनले ताल खुला रुपमा भएका र त्यहाँ कुनै तारबार नभएको भन्दै त्यसलाई व्यवस्थापन गर्नको लागि पनि माग गरेका छन् । उनले अझै यस्तै अवस्थामा रहेका फेरि पनि घटनाहरू घट्नसक्ने भन्दै तालको पनि राम्रो संरक्षण नहुँदा बर्खामा फुट्न सक्ने अवस्थामा रहेकाले तत्काल संरक्षण गर्न आग्रह गरे ।
जग्गा विवादका कारणले ताल निर्माण कार्य पनि रोकिएको र उक्त योजना बृहत् सिँचाइको भएयता पनि सम्झौता नभएको पनि उल्लेख गरे । मृतकका ठुलो बुबाले सिँचाइका लागि बनाइएको तालमा सुरक्षा ब्यवस्था नहुँदा घटना घटेको भन्दै आफूले उचित क्षतिपुर्ति पाउनु पर्ने बताए । उनले भने,‘ निर्माण हुँदा हुँदै विवादका कारण काम रोकिएको छ । तर, यो तालमा पौडी खेल्न जोखिम छ, भनेर सूचना वा तारबार हुनु पर्ने हो । तर, त्यो नभएका कारण नै यस्तो घटना भएको हो ।
सिँचाइका लागि बनाएका तालहरू काल बन्दै गएका छन् । त्यसका सुरक्षाको लागि तारबार वा खतरा भनेर सूचना राख्नु पर्छ ।’ उनले ४ दिनदेखि आफूहरुले सम्बन्धित ब्यक्तिसँग क्षेतिपुर्ति माग्दै आएको भएयता पनि कुनैले चासो नदिएको गुनासो गरे ।
उनले भने,‘ आज हामी इप्रका तुलसीपुरमा आएका छौँ । तर, निर्माण ब्यवसायी, उपभोक्ता समिति, जनप्रतिनिधिहरु सबैलाइै बोलाएका थियौँ । तर, कोही आउनु भएन् । अब मंलबार बिहान ८ बजे बस्ने कुरा भएको छ । ’ उनले आफूहरुले उचित क्षतिपुर्ति नपाउँदासम्म शव नबुझ्ने बताए । उनले प्रहरीले आफुहरुलाई सहयोग गरेको भएयता पनि सम्बन्ति ब्यक्तिहरू नआउँदा समस्या भइरहेको बताए । उनले आफूहरू कमजोर हुँदा र कतै पहुँच नहुँदा आफ्नो सुनुवाइ नभएको गुनासो गरे ।
