पत्रकारिता व्यक्तिगत स्वार्थमा हावी हुनुहुँदैन : बास्तोला

दाङ । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सभ्य समाज निर्माणका लागि निष्पक्ष पत्रकारिताको अभाव हुन नहुने बताए । स्वतन्त्र पत्रकार संघ नेपाल, दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष बास्तोलाले पत्रकारिता पेशा नितान्त समाजका लागि गरिने इमानको पेशा भएकाले व्यक्तिगत इच्छा, आकांक्षा र स्वार्थमा हावी हुन नहुने बताए ।
उनले स्वतन्त्र पत्रकारले जुनसुकै राजनैतिक पाटीमा आस्था राखेपनि पत्रकारितामा कलम चलाउँदा निष्पक्ष र स्वतन्त्र ढंगले चलाउनु पर्नेमा जोड दिए । ‘स्वतन्त्र पत्रकारले कुनै पनि पाटीमा आस्था राख्नु नै हुँदैन भन्ने होइन्,’ उनले भने,‘ पत्रकारिता पेशामा हुँदा कलम स्वतन्त्र रुपले चल्नुपर्छ , पत्रकारितामा कसैको आग्रह पूर्वाग्रह हुनु हुँदैन भन्ने नै हो ।’
स्वतन्त्र पत्रकारले कुनै पनि राजनैतिक पार्टीमा आस्था राख्नु हुँदैन भन्ने आम बुझाई रहेको उनको भनाई छ । निश्वार्थ भएर समाजका लागि सत्यको पक्षमा कलम चलाउनु नै स्वतन्त्र पत्रकारिता भएको बताए । उनले नेपालमा पछिल्लो समय एकपक्षीय ढंगले गरिने पत्रकारिता मौलाउँदै गएकोले स्वतन्त्र र मर्यादित पत्रकारिताको आवश्यकता खड्किन थालेको बताए ।
स्वतन्त्र पत्रकारिताको अभाव हुँदा शहरदेखि गाउँसम्म भ्रष्टाचार, विकृति र विसंगति मौलाउँदै गएको उनको भनाई छ । ‘सरकारलाई चेक एण्ड ब्यालेन्समा ल्याउने भनेकै पत्रकारिता हो,‘ उनले भने,‘ तर पछिल्लो समय निष्पक्ष, स्वतन्त्र र सत्यको पक्षमा कलम कम चल्दा समस्या देखिएको छ, पत्रकारले स्वतन्त्र र निष्पक्ष रुपमा समाचार लेखेर पत्रकारिताको साख जोगाउनु पर्छ ।’
कार्यक्रममा निवर्तमान अध्यक्ष केबी मसालले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतलाई साख जोगाउन स्वतन्त्र पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले पत्रकारिता पेशा सुन्दर समाजका निर्माणको बलियो पक्ष भएकाले पत्रकारले कुनै पनि लोभ ,लालच र व्यक्तिगत स्वार्थमा नभई समाजको हितका लागि समाचार लेख्नुपर्ने बताए ।
उनले पत्रकारको अर्को सबैभन्दा महत्वपूर्ण पाटो भनेको आर्थिक पारदर्शिता भएको पनि बताए । यस्तै अर्का नवनिर्वाचित केन्द्रीय सदस्य दीपक कुमालले पत्रकारको पेशागत सुरक्षाका लागि सम्बन्धित संचार संस्था र सरकार जिम्मेवार बन्नुपर्ने बताए ।
स्वतन्त्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष जीत सागर जीएमको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष बास्तोलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा केन्द्रीय अध्यक्ष बास्तोलासहित केन्द्रीय सदस्य जीतसागर जी.एम, शरद शर्मा, डिलाराम भण्डारी ( मिलन ) र दीपक कुमाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
त्यस अवसरमा निवर्तमान केन्द्रीय अध्यक्ष केबी मसालले नवनिर्वाचित अध्यक्ष बास्तोलालाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । उपाध्यक्ष पुरुषोत्तम अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बसन्त पौडेलले गरेका थिए ।