एकातिर अनुमति, अर्कोतिर उत्खनन

दाङ । तुलसीपुर उपमहानगरपालिका १६ का कमानसिं विश्वकर्माले अवैध रुपमा कुलाको मुहान रहेको ग्वारखोलामा उत्खनन हुँदा आफूहरूलाई सिँचाइको समस्या हुने भन्दै चिन्ता व्यक्त गरे । तुलसीपुर वडा नं. १६ र ७ को सिमानामा पर्ने मलवारे कुलाको मुहानमा अवैध रुपमा उत्खनन हुँदा करिब १८ सय बिगाहा जमिनमा सिंचाई समस्या हुने उनको भनाई थियो । उनले भने, ‘ कुलो संरक्षणको लागि हामीले कठ्ठाको ५ रुपैयाँको दरले पैसा उठाउँदै आएका छौँ । तर, वर्षेनी हाम्रो कुलाको मुहान भएको ठाउँमा उत्खनन हुने गर्दछ । हामीले हलवारबाट ल्याएर मलवारसम्म यो कुलाको पानी लैजाने गरेका छौँ । जहाँ १७ मौजाको करिब १८ सय बिगाहा जमिनमा सिँचाइ हुन्छ । यसरी मुहानै ध्वस्त पार्ने गरी उत्खनन गर्दा जमिन सुक्खा हुन्छ । हामी कसरी बाच्ने ?’
त्यस्तै तुलसीपुर ७ बसन्तापुर बस्ने पशुपति विश्वकर्माको पनि गुनासो उस्तै रहेको छ । ग्वारखोला नजिकै बस्दै आएकी उनले खोलामा आएर जबरजस्ती उत्खनन गर्ने गरेको बताइन् । उत्खनन गर्ने व्यक्तिहरूले आफूहरूले आफूहरूलाई थर्काउने गरेको पनि उनको गुनासो थियो । उनले भनिन्, ‘हामीहरूले यहाँ उत्खनन गर्ने आउनेहरूलाई किन हाम्रो गाउँ ठाउँलाई जोखिम पारेर खन्नु हुन्छ, भनेरभन्दा तपाईँहरूलाई यो खोलासँग के सम्बन्ध छ, चुप लाग भनेर भन्ने गर्छन् ।’ उनले खोलामा जथाभावी खनेर ढुंगा गिट्टी निकाल्दा कुलाहरूमा पानी जान नसक्ने पनि बताइन् । उनले अहिले कुलाको मुहान नजिकै धेरै गहिरो बनाएर गिट्टी, ढुंगा निकाल्दा कुलो जोखिम रहेको र वर्षायाममा आफूहरूको ठाउँमा बाढी आउन सक्ने भन्दै गुनासो गरिन् । उनले भनिन्, ‘हामीले केहीभन्दा हामीलाई उल्टै हप्काउँछन् । भनौँ भने, खोला दयनीय अवस्थामा पुगेको छ । हामी जस्ता सोझा साझाले नै दुख पाउने हो ।’
त्यस्तै सोही ठाउँकी लालमती साहुले जबरजस्ती रुपमा खोलाबाट ढुंगा, गिट्टी बालुवा निकाल्दा आफ्नो खेत जोखिममा परेको गुनासो गरिन् । आफूहरूले उत्खनन गर्ने ब्यक्तिहरूलाई आफ्नो जग्गा नै जोखिममा हुने गरि उत्खनन नगर्न आग्रह गर्दा उल्टै थर्काउने गरेको बताइन् । उनले भनिन्, ‘उत्खनन भएको ठाउँ नजिकै मेरो खेत रहेको छ । हामीले उनीहरूलाई आग्रह गर्दा उल्टै खोलाको बगरमा पैसा हाल्न कसले भनेको भन्दै थर्काउने गर्दछन् ।’
आफूहरू अन्य कुनै पेशा नभएको र यही किसानी गरेर दैनिक चलाउँदै आएको भएयता पनि यसरी उत्खनन हुँदा जमिनमा खोला पस्ने बताइन् । उनले गत वर्ष पनि खेतमा खोला पसेको भन्दै यस पटक पनि अझ पस्ने बताइन् । उनले आफूहरू ऐलानी जग्गामा बस्दै आएको भन्दै उत्खनन गर्नेहरूले ऐलानीमा बस्नेको अधिकार हुन्न भन्दै अटेरी गरेर खन्न गरेको पनि गुनासो गरिन् ।

उत्खनन गर्दा बदमासी भयो : वडाध्यक्ष डाँगी
मलवारे कुलाको मुहान नजिकै २७ गतेदेखि उत्खनन भइरहेको तुलसीपुर उपमहानगरपालिका १६ का वडाध्यक्ष शिवानन्द डाँगीले बताए । उनले उपमहानगरले उत्खनन गर्ने भनी दिएको ठाउँभन्दा फरक ठाउँमा उत्खनन भएको हुँदा यो बदमासी कार्य भएको पनि बताए । उनले भनेको भन्दा बढि उत्खनन गर्दा ग्वारखोलामा लुटतन्त्र भएको पनि आरोप लगाए । उनले भने, ‘अहिले खोलाहरूमा लुटतन्त्र भइरहेको छ । खोलालाई भनेको भन्दा बढि खनेर सिध्याउने काम भएको छ । त्यसको उदाहरण पनि यो हो । लाखौँ जनताहरूलाई भोकै मार्ने गरी काम भइरहेको छ । यसप्रति मेरो गम्भिर आपति छ ।’
आफू मलवारे कुलाको अध्यक्ष समेत भएर काम गरेको भन्दै उनले यस कुलाले १७ मौजाको १८ सय बिगाहा जमिनमा सिँचाइ पु¥याउँदै आएको पनि बताए । उनले जिल्लाको प्रगान्ना सिँचाइ पछिको दोस्रो ठुलो आयोजना भएको कुलालाई नै सखाप पार्ने गरी उत्खनन हुँदा लाखौँ जनताहरूलाई असर गर्ने बताए ।
उनले भने, ‘यो ठेक्का दिन प्रक्रियामा पनि बदमासी भएको छ । करोडौँको लगानी भएको कुलालाई ध्यान नदिएर २ लाखको राजश्वको लागि उत्खनन गर्न दिनु नै सबैभन्दा बढि बदमासी भएको हो ।’ उनले उपमहानगरले उत्खनन गर्न दिएका ठाउँहरुको प्रभावकारी ढंगबाट अनुमण गर्नुपर्ने र दोषीलाई कारबाही गर्न पनि माग गरे । उनले आफू कार्यापालिकाको सदस्य समेत रहेको भन्दै यस कुरालाई कार्यापालिकाको बैठकमा जोडदार रुपमा उठाउने पनि बताए । उनले यो कुलाको संरक्षण गर्नको लागि आफू जनप्रतिनिधि नहुँदा पनि दिनरात खटेर उत्खनन गर्न नदिएको भन्दै आफू अहिले जनप्रतिनिधि भएको र यस्ता गतिविधि नहुन नदिन आफू तयार रहेको पनि बताए ।

ठेक्का एकातिर उत्खनन अर्कैतिर
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति मोहन पौडेलले ठेक्का दिएको ठाउँ भन्दा फरक ठाउँमा उत्खनन गरेर बदमासी भएको बताए । उनले उत्खनन गरेको ठाउँको स्थलगत अनुगमण गर्दै उनले आफूहरूलाई छलेर फरक ठाउँबाट उत्खनन गरेको हुँदा अब उक्त कम्पनीलाई अनुमति नदिने पनि बताए । उनले भने, ‘कानुन बमोजिमभन्दा बढि उत्खनन गरेरको भए त्यही अनुसार हामीले उसलाई सजाय गर्ने छौँ । हामीले ठगेर चोर लगेको रहेछ । हामीले यहाँ उत्खनन भएको थाहाँ पाएका थिएनौँ । वडाध्यक्षले जानकारी दिएपछि हामी आएको हौँ । यो उत्खनन गर्ने ठाउँ नै होइन । यहाँ कसैले पनि उत्खनन गर्ने अनुमति दिदैँन् ।’
उनले विजयश्वरी कन्स्ट्रक्सनलाई तुलसीपुर ७ मा पर्ने हात्तिथुक्का क्षेत्रमा ५०० घनमिटर र एक मिटर गहिराइसम्म उत्खनन गर्नको लागि २ लाख ११ हजार ९२० रुपैयाँमा जिम्मा दिएको भएयता पनि उक्त ठेक्का पाएको कन्स्ट्रक्सनले करिब ७ सय मिटर उत्तरतर्फ त्यहाँ मलवारे कुलाको मुहान नजिकै उत्खनन गरेको पाइएको पनि बताए । प्रकृतिले दिएको बस्तुलाई जहाँ मन लाग्यो, त्यहाँबाट उठाउने अनुमति कसैलाई नभएको बताए । उनले राजश्व लिएर उपमहानगर र जिल्लाको विकास निर्माणको लागि नदिजन्य बस्तुहरु उत्खनन गर्ने दिएको भन्दै चोर्ने ब्यक्तिले गलत तरिकाबाट उत्खनन गरेको बताए ।