हरेक महिलाहरु उद्यमशिल हुन जरुरी छ : उपाध्यक्ष खड्का

दंगीशरण । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले दंगीशरणका हरेक महिलाहरु उद्यमशिल हुन जरुरी रहेको बताइन् । आर्थिक रुपले जहिले पनि पिछडिएका महिलाहरुका लागि स्थानीय सरकार आएदेखि नै महिला नेतृत्व तथा उद्यमशिलतासँग जोडिएका कार्यक्रमहरु संचालनमा आईरहेकाले यसलाई कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए ।

दंगीशरण गाउँपालिकाको आयोजनामा विपन्न महिलाहरुका लागि स्थानीय उत्पादनबाट १० दिने अचार बनाउने तालीम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले यस्तो बताइन् । पाँच वर्षको अवधीमा कैयौँ वडामूखी महिला उद्यमशिल तथा क्षमता विकास कार्यक्रमहरु गरेपनि कुनैपनि वडामा महिलाहरु उद्यमी तरिकाले ब्यवसायमा लागि नपरेको भन्दै अबको पाँच वर्षमा कार्यक्रम पश्चात अनुगमनका कार्यक्रम अगाडि बढाउने बताइन् । घरमै बसीबसी आयआर्जन गर्न सकिने ब्यवसाय पनि नगर्ने, जहिले आर्थिक अवस्था कमजोर छ भन्ने महिला दिदिबहिनीहरु आत्मनिर्भर हुनका लागि घरको काम पश्चात बचेको समयलाई ब्यवसायमा लगानी गर्न उनले आग्रह गरिन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्काले महिलाहरु ईच्छा शक्तिलाई बाहिर ल्याई सिकेको सीपलाई बाहिर ल्याउन आग्रह गर्दै गाउँपालिकाले महिलाहरुको माग बमोजिम नै अबका दिनमा कार्यक्रमहरु संचालनमा ल्याउने बताए । तालीममा सहभागिहरुले तालीमपछि समुह बनाएर ब्यवसायसँग जोडिने प्रतिवद्धता जनाएका थिए । सो अवसरमा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । २५ जना महिलाहरुको सहभागिता रहेको तालीमको प्रशिक्षकमा शारदा आचार्य र शान्ता पौडेल रहेकी थिइन् । कार्यक्रमको शहजीकरण महिला बालबालिका शाखाकी चन्द्रा वलीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस