‘लागूपदार्थ दुर्व्यसनी रोक्न, अभिभावक सचेत बनौं’  

दाङ । लागूपदार्थ दुव्र्यसनी रोक्नका लागि अभिभावकहरु सचेत बन्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । लागूपदार्थ दुव्र्यसनीका कारण युवाहरु कुलतमा फस्नका साथै आर्थिक क्षतिसमेत हुने भएकाले अभिभावकहरु आफ्ना सन्तानप्रति समयमै सचेत हुनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका हुन्

दाङ महिला जेसीजको आयोजना तथा नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीको सहआयोजनामा घोराही उपमहानगरपालिका १० नारायणपुरमा आइतबार भएको लागूपदार्थ दुव्र्यसनी सम्बन्धी अभिभावक प्रशिक्षण कार्यक्रममा बोल्ने बक्ताहरुले बढ्दो लागूपदार्थ दुव्र्यसनीका कारण समाजमा अनेकन अपराधका घटनाहरु घट्ने गरेको भन्दै लागूपदार्थ दुव्र्यसनीलाई रोक्नका लागि अभिभावकहरु सचेत हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष दीपक पाण्डेले लागूपदार्थ दुव्र्यसनीलाई न्यूनीकरण गर्नका लागि सबैभन्दा पहिले अभिभावकहरु सचेत हुनुपर्ने बताए । उनले आफ्ना सन्तानप्रति अभिभावक सचेत नहुँदासम्म जति प्रयास गरेपनि लागूपदार्थ दुव्र्यसनी रोक्न नसकिने भएकाले सबैभन्दा पहिले अभिभावकहरु सचेत बन्नुपर्ने बताए ।

‘अभिभावक सचेत बन्ने र आफ्नो सन्तान स्कुल जान्छन् वा जादैनन्, काम ठीक ढंगले गरेको छ कि छैन ? त्यो हेर्न आवश्यक छ’, वडाध्यक्ष पाण्डे भने ‘घरमा हरेक अभिभावक र विद्यालयले गुरुहरुले यसरी निगरानी राख्न सके नयाँ पुस्ता कुलतमा फस्ने सम्भावना कम हुनेछ ।’ उनले नयाँ पुस्ता कुलतको दलदलमा फस्नाले समाजमा नकारात्मक असरसँगै आफ्नो व्यक्तिगत जीवनसमेत स्वयं व्यक्तिले बिगार्ने काम भइरहेको बताए । घरदेखि स्कुलसम्म सबैले निगरानी राख्न सके सभ्य समाज निर्माण हुन सक्ने बताए ।

कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतमले बालबालिकाका असल काममा लाग्नका लागि सानैदेखि अभिभावकहरु सचेत बन्नुपर्ने बताइन् । उनले लागूपदार्थ दुव्र्यसनीमा फसेकालाई सुधार्नभन्दा लाग्नै नदिने गरी सबैले पहल गर्न आवश्यक रहेकोमा जोड दिएकी थिइन् । कार्यक्रममा बोेल्ने अन्य बक्ताहरुले लागूपदार्थ दुव्र्यसनीका कारण युवाहरु दिनहुँ कलतमा फस्ने गरेको भन्दै त्यसबाट बच्नका लागि सचेतना आवश्यक रहेकामा जोड दिएका थिए ।

दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीका अध्यक्ष सुरेश भुसाल, सिद्धरत्ननाथ नमूना माध्यमिक विद्यालय नारायणपुरका शिक्षक हेमशंकर गौतम, नारायणपुर उद्योग वाणिज्य संघका कोषाध्यक्षरकावा अध्यक्ष रेखा केसी, दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम, पूर्व अध्यक्ष विन्दु गिरी, झारबैरा टोल पूर्व अध्यक्ष, यमानन्द जिसी, सर्वेश्वरी टोल विकास कार्यवाहक अध्यक्ष प्रतिज्ञा खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको प्रशिक्षकमा नयाँ पाइला पुनःस्थापना केन्द्रका उपाध्यक्ष तथा मनोपरामर्शदाता शैलेन्द्र शर्माले प्रशिक्षण दिएका थिए ।

दाङ महिला जेसीजकी तालिम निर्देशक दिलु मल्लले आस्थापाठ गराएको कार्यक्रममा कार्यक्रम संयोजक मिना भण्डारी वलीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कानुनी सल्लाहकार अनिता ढकालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन् । तालिममा वडा नं. १० का ५२ वटा टोलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस