जेसिबी दुर्घटना हुँदा दाङका वलीको मृत्यु

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पल्लीकोटमा जेसिबी डोजर दुर्घटनामा चालकको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका २ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु १ क ४७७१ नम्बरको जेसीबी डोजर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जेसीबी डोजर चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका १ निवासी ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) माधवराज खरेलले बताए ।
जेसीबी डोजर गएराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छा तर्फ आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जेसीबी डोजर सडकबाट करिब ५ सय मिटर तल खसेको छ । जेसीबी बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडीका प्रहरी निरीक्षक यमलाल बन्जाडेको कमान्डमा टोली खटिएको थियो । घटना स्थलमा प्रहरी पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए ।