ज्यूँदो माछाको पहिलो बिक्री स्टल उद्घाटन 

गढवा । गढवा गाउँपालिका वडा नं. ६ को परिचोकमा बिहीवार गढवामै पहिलो पटक ज्यूँदो माछाको बिक्री स्टल उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालय अन्तर्गत पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजनामा ज्यूँदो माछाको बिक्री स्टल उद्घाटन गरिएको हो ।

गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगरको अध्यक्षतामा भएको कार्यक्रममा पशुसेवा बिज्ञकेन्द्र दाङका कार्यालय प्रमुख सुदाम भट्टले बिक्री स्टलको शिला अनावरण गरि स्टलभित्रको पानीमा ज्यूँदो माछा राखेर स्टलको विधिवत् उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै भट्टले मानव शरीरमा अत्यावश्यक तत्व माछामा हुने भएकोले आम नागरिकहरूलाई ताजा माछा उपलब्ध गराउने सरकारको नीति बमोजिम ज्यूँदो माछाको बिक्री स्टल अभियानलाई प्रदेशले अगाडि बढाएको बताए । मनिसमा हुने हृदयघात र कोल्डस्टोर रोगलाई माछाको सेवनले हटाउने भएकोले पनि मानव शरीरलाई माछा उपयुक्त भएको बताए ।
  
प्रदेश सरकारको ४ लाख र स्थानीय व्यवसायी रेशम बहादुर शाहीको ४ लाख गरि कूल आठ लाखको लागतमा सो स्टल निर्माण गरिएको पशुसेवा बिज्ञ केन्द्र दाङका योजना अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए । गढवामा ज्यूँदो माछाको बिक्री स्टल स्थापना भएको थाहा पाएर गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रले कार्यक्रमको स्वागत गर्दै स्वतःस्फूर्त पञ्चैबाजा बजाएर कार्यक्रमलाई रोचक र रौनकपुर्ण बनाएको थियो । 

कार्यक्रममा गढवा ६ का वडा अध्यक्ष बिरबहादुर आले, वडा सदस्य दिनमणि आचार्य, गढवा होटल व्यवसायी संघका अध्यक्ष दयाराम थापा तथा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष चुडामणि पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पशुसेवा विज्ञ केन्द्र दाङका प्रेमकुमार चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस