उत्खननको विवाद मिलाउन दाङका सीडीयो र एसपी खोलामा

दाङ । उत्खननको विषयलाई लिएर शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाका स्थानीयका बीचमा विवाद भएपछि दाङका सुरक्षा प्रमुखहरू उत्खनन स्थलमा पुगेका छन् । ठेकदारले जथाभावी रुपमा अवैध उत्खनन गरेको भन्दै गुनासो गरेपछि दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र दाङका प्रहरी प्रमुख सुरेश काफ्ले वास्तविकता बुझ्न त्यहाँ पुगेका हुन् ।

क्षेत्राधिकार भन्दा बाहिर गएर वेगम कन्ट्रक्सन शान्तिनगरले उत्खनन नगर्ने सहमति जनाएपछि विवाद मिलेको छ । ठेकदारले ठेक्का लिएको ठाउँभन्दा बाहिर गएर अवैध रुपमा उत्खनन गरेको भन्दै स्थानीयले गुनासो गरेपछि जिल्लाका सुरक्षा प्रमुख र गाउँपालिका अध्यक्षहरू उत्खनन स्थलमा पुगेका हुन् ।

बबई गाउँपालिकाले वडा नम्बर ७ को बेलासपुरमा नदीजन्य वस्तुको उत्खनन लागि बेगम कन्ट्रक्सन शान्तिनगरलाई गएको मंसिर २० गते २५ लाख ४५ हजारमा ठेक्का दिएको थियो । ४ मिटर लम्बाइ ३० मिटर चौडाइ, ६० सेन्टिमिटर गहिराइमा ६ हजार घनमिटर नदीजन्य वस्तुको उत्खनन गर्नेगरी कन्ट्रक्सनले ठेक्का लिएको छ ।

दुई गाउँको प्रतिनिधित्व गर्नेगरी शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर केसीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस