दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

दाङ । वन जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका महिला निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका १७ डवरीका महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरूले तीन वर्ष अघिदेखि दुना, टपरी बनाएर बिक्री मार्फत आम्दानी गर्न थालेका हुन् ।

त्रिशक्ति दुना, टपरी उद्योग स्थापना गर्दै सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको समूहको अध्यक्ष उमा रावतले बताइन् । वि।सं २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई दुना, टपरी बनाउने तालिम दिएको थियो । तालिम पश्चात १० महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतले बताइन् ।

मेसिनको दुना टपरी हातले बनाएको जस्तो भरपर्दो नहुने भएकाले विगत एक वर्षदेखि हातले बनाउन थालेको उनीले बताइन् । उनीका अनुसार पछिल्लो समयमा दाङमा दुना टपरीको माग बढेको छ । चाडपर्व, पूजा, बिहे तथा मृत्यु संस्कारमा पनि हरियो दुना टपरीको माग हुने गर्दछ । तर, धार्मिक कार्य तथा अन्य विशेष समयमा माग धान्न समस्या हुने गरेको रावतले बताइन् ।

एउटा टपरीको मूल्य रु चार कायम गरिएको समूहकी अध्यक्ष रावतले जानकारी गराइन् । उनीका अनुसार हरियो दुना टपरीको माग गर्नेका लागि हातले तयार गरिन्छ । मेसिनबाट बनाएको भन्दा हातले बनाएको मानिसले मन पराउने भएका कारण हातले बनाएको धेरै बिक्री हुने गरेको समूहको सदस्य सरस्वती घिमिरेले बताइन् । 

प्लास्टिकका सामान विस्थापित गर्न र स्वास्थ्य समाज निर्माण गर्न थालेको सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने महिलाको धारणा छ ।

घोराही उपमहानगरको उपप्रमुख हुमा डिसीले महिलाले गरेको कामलाई सम्मान गर्दै उत्पादन भएका सामग्रीलाई बजार व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बताइन् । डिसीले जिल्लामा अन्य महिलाले पनि घर वरिपरि खेर गइरहेको पातलाई सदुपयोग गरेर आयआर्जनमा जोडिन आग्रह गरिन् । दुना, टपरी प्रयोग गरेर प्लास्टिकका सामान किन्ने पैसा बाहिर जाने रकम रोक्न सकिने उनीको धारणा रहेको छ ।
 

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस