तुलसीपुरमा होटेल स्तरीकरण सुरु

दाङ । तुलसीपुर उपमहागरपालिका भित्र रहेका होटेलहरुको स्तरीकरण सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसिपुरले यस क्षेत्रमा रहेका होटेलहरुको सेवा, खाद्य वस्तु, सरसफाईलगायतका सूचाकाङ्कमा राखेर स्तरीकरण सुरु गरिएको हो ।

डिभिजन कार्यालयका प्रमुख उज्ज्वल रायमाझीले चार क्षेत्रमा विभाजन गरेर होटेलहरुमा लोगो टास्न सुरु गरिएको हो । उपभोक्ताहरुलाई सफा, स्वस्थ,गुणस्तर युक्त खानाका लागि स्तरीकरण सुरु गरेको कार्यालय प्रमुख रायमाझीले जानकारी दिए । कार्यालयले गत वर्ष खाद्य सुरक्षाका लागि पानी, खाद्यान्न वस्तु, होटेल, डेरी, किराना पसलका एक सय साठीवटा नमुना परीक्षण गरेको थियो ।

स्तरीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख टीकाराम खडकाले पछिल्लो समयमा अखाद्य वस्तु उपयोगका कारण क्यान्सर जस्ता रोगहरु बढ्दो क्रममा रहेकाले कार्यालयले दैनिकरुपमा अनुगमन, खाद्य वस्तुको ल्याब टेस्टमा ध्यान दिनुपर्ने बताए । उनले खाद्य वस्तुको निरिक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा उपभोक्ता अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्मा, उपभोक्ता संरक्षण हित शाखा रेखा शर्मालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस